कोटेश्वर छाडेर टाप कसे यी कम्युनिस्ट नेता

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पछि लागेर महत्वपूर्ण पदहरूमा पुगेका केन्द्रीय सदस्य विष्णु रिजालले गुट परिवर्तन गरेका छन् ।

नेपाल समूह छाडेर केपी ओली समूहतिर लागेपछि ओलीले विदेश विभागको उप–प्रमुख दिएर पुरस्कृत गरेका छन् ।

शुक्रबार बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकबाट ओलीले रिजाललाई विदेश विभागको उप–प्रमुखको जिम्मेवारी दिएका छन् ।

ओलीले रिजाललाई विदेश विभागको उप–प्रमुखका साथै दैलेख जिल्ला सह–ईञ्चार्ज दिएका छन् ।

रिजालले केही दिन अगाडिसम्म माधव नेपालको समर्थनमा ओलीविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । आकर्षक पद पाएपछि रिजालले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिन पुगेपछि उनको निष्ठामाथि ठूलो प्रश्न उठेको छ ।

यसैबीच, रिजालले भनेका छन्, ‘संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए ।’

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडिः दुई कदम पछाडि’को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ ।’

‘समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’को नियम लागू हुँदैन र यसको समाधान आलोचना–आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद–लेनिनवादले स्पष्ट पारेको छ’, रिजालले भनेका छन् ।

‘अतः भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ– फर्कौं’, ओली गुटतिर लागेका नेता रिजालले भनेका छन् ।

कोटेश्वरमा बस्दै आएका माधव नेपाललाई लात हानेर केन्द्रीय सदस्य रिजाललाई ओलको बालुवाटारको दरबार प्यारो लागेको भनेर सामाजिक सञ्जालमा चर्चा भएको छ ।

Published : Friday, 2021 April 23, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया