ओलीको कुर्सी बचाउन मुख्यमन्त्री काठमाडौं हानिएपछि कोरोना संक्रमितको बिचल्ली, कांग्रेस नेता खाण चिन्तित
काठमाडौं । लुम्विनी प्रदेशमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा बढेको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि बाँके र दाङमा बेड नपाएर बिरामीहरूलाई बाहिरै राखेर उपचार थालिएको छ ।
बाँकेको नेपालगञ्जमा दुई जना बिरामीलाई रातभरि बाहिर स्ट्रेचरमा राखेर उपचार गरिएको छ । दाङको बेलझुण्डीमा कोभिड–१९ अस्पतालमा पनि कोरोनाभाइरसका संक्रमित बिरामीलाई बाहिरै राखेर उपचार गरिएको छ ।
दाङ लुम्विनी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला पनि हो । आफ्नै जिल्लाको कोभिड–१९ अस्पतालको बिजोग हुँदा समेत पोखरेलले ध्यान नदिएको भन्दै बिरामीका आफन्त आक्रोशित बनेका छन् ।
कोरोनाका संक्रमितको उपचार, व्यवस्थापन र भारतसँगको बोर्डर व्यवस्थित गर्ने बेला लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेल एमालेभित्रको विवाद मिलाउन काठमाडौंमा छन् ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तालाई सार्थक बनाउन पोखरेल होटेलमै पुगेका थिए ।
आफ्नो प्रदेशका जनतालाई कोरोनाबाट बचाउन छाडेर पार्टीभित्रको विवाद मिलाउन काठमाडौंतिर हानिएपछि लुम्विनी प्रदेशका कोरोना संक्रमितको बिचल्ली भएको आरोप सामाजिक सञ्जालमा लागेको छ ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारले पनि कोरोना संक्रमितको उपचारमा ध्यान नदिएको भनेर आलोचना बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाणले बाँके र दाङमा कोरोना संक्रमितको उपचारमा राज्यबाट भएको लापरबाहीप्रति चिन्ता व्यक्त गरेका छन् । खाणले निजी सचिवालयमार्फत कोरोना संक्रमितहरूको उपचार समयभित्र गर्न माग गरेका छन् ।
‘बाँके र दाङमा बेड अभाव भएर कोरोनाका संक्रमितलाई अस्पताल बाहिरै राखेर उपचार भएको घटना गम्भीर छ’, कांग्रेस नेता खाणले भनेका छन्, ‘सरकारले कोरोना संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यकर्मीको सुरक्षासहित सबै व्यवस्था गर्नुपर्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया