कम्युनिस्ट भनेका कुखुरा लुट्ने स्याल हुन्ः ईन्द्रबहादुर बानियाँ, सयौँ युवा कांग्रेसमा प्रवेश
बकैया । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मुलुक निर्वाचनतिर गएको भन्दै चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा शनिबार आयोजित कांग्रेसको गाउँ भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले अबको एक वर्षभित्र प्रतिनिधि सभाको निर्वाचन हुने बताए । उनले कांग्रेसले मकवानपुरसहित देशका अधिकांश निर्वाचन क्षेत्रमा चारतारे झण्डालाई पुनः गाढेर विजयी हुने घोषणा गरेका छन् ।
‘निर्वाचन चाँढै हुने अवस्था छ । निर्वाचनको परिस्थिति अगाडि बढेको छ’, उनले भने, ‘एक वर्षभित्रमा निर्वाचन हुन्छ ।’
नेता बानियाँले भने, ‘बकैयाका जनताले रुखमा भोट हाल्नुस् । कांग्रेसलाई जिताउनुस् । बकैयाको कृषि, रोजगारी, विकास, सडक बनाउनेमा मैले सहयोग गर्छु । म जे बोल्छु त्यही गर्छु । कम्युनिस्ट जस्तो झुठ बोल्दैन ।’
कांग्रेस नेता बानियाँले गरिबका छोराछोरीले निःशुल्क पढ्ने व्यवस्था कांग्रेसले गर्ने बताए । उनले गाउँका विद्यालयहरू पनि निजी सरह प्रविधिमैत्री स्कुल हुने बताए । बानियाँले कांग्रेसले जितेर आउनेवित्तिकै गरिब जनतालाई निःशुल्क उपचार गराउने व्यवस्था गर्ने बताए ।
कांग्रेस नेता बानियाँले गरिबलाई आधारभूत सुविधाहरू दिने बताए । ‘कांग्रेसले जितेर सरकार बनायो भने धनीसँग प्रसस्त कर उठाउनेछ, उनीहरूलाई उद्योग व्यवसाय गर्न सुविधा दिनेछ’, बानियाँले भने, ‘धनीसँग कर उठाएर गरिबलाई निःशुल्क शिक्षा र स्वास्थ्य दिइनेछ ।’
नेता बानियाँले कांग्रेसले वृद्धवृद्धालाई बसोबासको व्यवस्था गर्ने नि बताए । ‘वृद्धवृद्धालाई भत्ता होइन, गास, बास र संस्कृतिअनुसार भजनकीर्तन गर्नुपर्छ । विभेदकारी वृद्ध भत्ता हटाउनुपर्छ’, उनले भने, ‘धनी र गरिबलाई बराबरी दिइने वृद्ध भत्ताको काम छैन ।’
सत्तास्वार्थका लागि मिलेर जनता झुक्काएका कम्युनिस्टहरू पुनः भोट माग्न जनताका अगाडि आउने उनले बताए ।
‘कम्युनिस्टहरू अबको निर्वाचनमा हार्ने भएपछि कांग्रेस र विदेशीले हामीलाई फुटाए भनेर मिलेर तपाईहरूसँग माफी मागेर भोट माग्न आउँछन् । यो फटाहरूको काम त्यही हो’, बानियाँले भने, ‘आत्मालोचनाका लागि फेरि हामी मिल्यौँ भनेर आउनेछन् । कम्युनिस्टहरूले जनताको लागि गरेको हो भने किन फुटेको हो ? सबै कम्युनिस्ट ठग हुन् ।’
कांग्रेस नेता बानियाँले कम्युनिस्टहरूलाई जंगलका स्यालको संज्ञा दिए ।
‘स्यालले कुखुरा चोर्दैन भनेको जस्तो । स्यालले नजिक आएर हेर्दा स्याल कुकुर जस्तो देखिने । घरको कुकुरले कुखुराको संरक्षण गर्छ । बनबाट आएको स्यालले त्यो कुखुरा लुटेरै लैजान्छ’, उनले भने, ‘त्यो हेर्दा कुकुर जस्तो बफादार हो कि होइन बिचार गर्नुपर्छ । कम्युनिस्ट भनेका जंगलबाट आएको कुकुर जस्तो देखिन स्याल हो ।’
‘कांग्रेसलाई फाउल हान्नेहरूसँग लडेर कांग्रेसले आफ्नो पालामा विकासमा गोल हानेको छ । फेरि पनि उठेर गोल हान्छ’, उनले भने, ‘एमाले, माओवादी र राप्रपा जस्ता फाउल हान्ने पार्टीलाई जनताले हराएर कांग्रेसले जिताउनेछ ।’
‘कम्युनिस्ट भनेका जनताप्रति निष्ठा नभएको पार्टी हो । कम्युनिस्ट भनेका खरभुजा जस्तो पार्टी हो । झुठ बोल्ने पार्टी । बाहिर हरियो । भित्र रातो’, बानियाँले भने, ‘कांग्रेस भनेको गाजर हो । बाहिर–भित्र दुबैतिर रातो । झुठ नबोल्ने पार्टी हो ।’
‘माओ र लेनिनको नाममा कम्युनिस्टले ठग्ने, कम्युनिस्टको नाममा कहिले एमाले, कहिले माओवादीले ठग्ने । राजाको नाममा राप्रपाले ठग्ने । माओ, लेनिन र राजाको नाममा राजनीति गर्ने कुनै जनताको मान्छे हुन सक्दैन’, उनले भने, ‘नेपाली कांग्रेस जनताको पार्टी, जनताको जगमा उठेको पार्टी हो ।’
कार्यक्रममा कांग्रेस नेता बानियााले एमालेका विजय थिङ, प्रकाश वाइबा, राप्रपाका राजन घिमिरे, अञ्जन लामिछाने, सुनिल दराईलगायत सयाैँ युवाहरूलाई कांग्रेसमा स्वागत गरेका थिए । उनले नवप्रवेशीहरूलाई कांग्रेसलाई जिताउने गरेर अभियन चलाउन निर्देशन पनि दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया