११३ इन्स्पेक्टरहरूले पाए दर्ज्यानी चिन्ह

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएका मध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गरेका छन् ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए । जसमा १४ जना महिला छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

महानिरीक्षक क्षेत्रीले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न स्वागत गरेका छन् ।

Published : Friday, 2021 April 2, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया