गंगा चौधरीले दिइन् रेशमलाल चौधरी निर्दोष रहेको प्रमाण
काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले टीकापुर घटनामा थुनामा रहेका रेशमलाल चौधरी निर्दोष रहेको भन्दै रिहाइको माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले टीकापुर घटनामा रेशम चौधरीसहित ५८ जनामा लगाइएको मुद्धामा उनीहरू सबै निर्दोष रहेको बताइन् ।
‘सांसद रेशमलाल चौधरी लगायत टीकापुर थरुहट आन्दोलनमा ५८ जनामाथि लगाएको झुठ्ठा मुद्धा फिर्ता गर्ने सन्दर्भमा पनि म आफ्नो धारणा राख्न चाहन्छु’, उनले भनेकी छिन् ।
‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन् भन्ने भ्रम परेको छ । अपराधीको पक्षमा गंगा चौधरीले आवाज उठाइन् भन्ने लाग्न पनि सक्दछ’, सांसद चौधरीले भनेकी छिन्, ‘म दावाका साथ भन्न सक्दछु कि रेशम चौधरी लगायत ५८ जना निर्दोष छन् । घटना भएको बेला रेशम चौधरी टीकापुर थिएनन् । बर्दियामा थिए । त्यहाँका जनतालाई राम्रोसँग थाहा छ ।’
उनले भनेकी छिन्, ‘राजनीतिक कारणले उनीलाई फसाएको छ ।’
‘टीकापुर घटना राजनीतिक कारणले घटाइएको थियो । राजनीतिक कारणले नै रेशम चौधरीलाई फसाइएको हो’, एमालेकी सांसद चौधरीले भनेकी छिन्, ‘यो घटनापछिको आमनिर्वाचनमा प्रचार–प्रसार बेगर त्यहाँका जनताबाट भारी बहुमतले संसदमा विजयी हुनु यो नै निर्दोषिताको बलियो प्रमाण हो ।’
‘सय जना अभियुक्तमा ९९ सय जना अभियुक्त छुटे पनि छुटुन् । तर, एक जना निर्दोष मान्छेले सजाय पाउनु हुँदैन भन्ने न्यायिक मान्यता र सिद्धान्त पनि छ’, उनले भनेकी छिन् ।
‘सरकार र थारु कल्याणकारिणी सभाबीच जुन वार्ता भइरहेको छ त्यो स्वागत योग्य छ । वार्ताले सार्थकता पाओस्’, सांसद चौधरीले भनेकी छिन् ।
‘माओवादीको आन्दोलनको बेलामा जनधनको क्षति भयो । बेपत्ता पारिएकाहरूको खोजीका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरियो । ती आयोग निस्प्रभावी छन् । प्रयोजन विहीन छन्’, चौधरीले भनेकी छिन् ।
‘ती आयोगको नाममा करोडौँ रुपियाँ स्वाहा भएको छ’, सांसद चौधरीले भनेकी छिन्, ‘सशस्त्र आन्दोलनमा मारिएका, घाइते भएका, अंगभङ्ग भएका, जागिर गुमाउन बाध्य पारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र उनीहरूको परिवारलाई राज्यले एउटा नीति बनाएर उचित क्षतिपूर्ति सुविधान प्रदान गर्नुपर्छ ।’
सांसद चौधरीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले निर्धक्कसँग काम गर्ने वातावरण नपाएको असहज परिस्थितिमा पनि सरकारले गरेका राम्रो कामहरूमध्ये तराईमा सीके राउतको नेतृत्वको शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै प्रशंसा गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘हालसालै मात्र नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा सशस्त्र आन्दोलनमा उत्रिएको माओवादी शक्तिलाई पनि शान्तिपूर्ण राजनीतिकमा ल्याउन सफल हुनु पनि हो । सरकारको यो काम अत्यन्तै प्रशंसनीय छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया