माओवादीका सचिवालय सदस्यसहित १५ जना कांग्रेसमा प्रवेश
धनगढी । कैलाली जिल्लामा माओवादी केन्द्रका लोकप्रिय जिल्ला नेताहरू १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कैलालीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र कैलालीको जिल्ला कमिटी सचिवालय सदस्य गणेशबहादुर सुनारसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गरेका सुनार घोडाघोडी नगरपालिका– १ बाट २०७४ सालमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए ।
कैलाली कांग्रेसका सभापति नरनारायण शाह ‘मनु’ र नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापति नृपबहादुर वडले सुनारसहितका माओवादीका १५ जना नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन् ।
नवप्रवेशीहरूलाई कांग्रेसको पार्टी सदस्यता प्रदान गरिएको छ । उनीहरूलाई टीका लगाएर नेपाली कांग्रेसमा भित्र्याइएको छ ।
कैलाली कांग्रेसका सभापति शाहले नेपाली कांग्रेसको विचारमा विश्वास गरेर प्रवेश गरेका माओवादी केन्द्रका नेता कार्यकर्ताहरूलाई पार्टीले उचित सम्मान गर्ने बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टीहरूमा सत्ताका लागि भैरहेको किचलोबाट निरास भएर आफ्नो र देशको भविष्य खोज्न नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् ।’
‘लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस बाहेक कसैको बिकल्प छैन भनेर सबैले बुझ्न थालेका छन्’, सभापति शाहले भनेका छन् ।
नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापति वडले कम्युनिष्टहरूका कारण देशले दुर्दशा भोग्नु परेको बताए ।
अभाव, गरिवी, जातीयता र क्षेत्रीयतामा रमाउने भनेका कम्युनिष्टहरू रहेको भन्दै नगर सभापति वडले भने, ‘कम्युनिस्टहरू सर्वहाराका कुरा गर्दछन् । तर सर्वहाराका कहिल्यै हुँदैनन् ।’
माओवादी केन्द्र परित्याग गरेर कांग्रेस प्रवेश गरेका गणेशबहादुर सुनारले कम्युनिष्टहरूको व्यावहारबाट आफूहरू वाक्कदिक्क भएको बताए । ‘प्रजातान्त्रिक बिचारसंग जोडिनु बाहेक हामीसंग विकल्प थिएन’, उनले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया