शुभेच्छुकहरूले कांग्रेस नेता स्व.खमुबहादुर खड्कालाई यसरी सम्झिए

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको तेस्रो स्मृति दिवस कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले सोमबार विभिन्न कार्यक्रम गरेर स्मरण गरेका छन् ।

नेता खड्काको तीन वर्ष अगाडि चैत १६ उपचारका क्रममा निधन भएको थियो । मृगौला रोगबाट बिरामी परेका खड्कालाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो ।

पटक–पटक मन्त्री बनेका खड्काले कर्णालीमा सडक बाटो लैजान ठूलो योगदान गरेका थिए ।

खड्काले देशका विभिन्न स्थानमा सिँचाइका योजना बनाएका थिए । खड्काले विकासको बाढी नै ल्याइदिएका थिए । सशस्त्र प्रहरी बल नेपालको जन्मदाता पनि स्व.खड्कानै हुन् ।

पार्टीको विभिन्न जिम्मेवारी बसेर काम सम्हालेका खड्कालाई पछि भ्रष्टाचारको मुद्धा लगाएर फसाइएको थियो । खड्कालाई नजिकबाट चिनेका कांग्रेसका नेता कार्यकर्ताले भ्रष्टाचारको मुद्धा लगाउने अदालतको फैसलालाई रुचाएका छैनन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले स्व.खड्कालाई राजनीतिक गुरु मान्छन् । महर्जन भन्छन्, ‘मेरो राजनीतिक गुरु स्व.खुमबहादुर खड्का ज्यूप्रति हार्दिक श्रद्धाञ्जलि । हजुरसँग क्षमता थियो । साहस थियो । आँट थियो । ईमानदारिता थियो । धैर्यता थियो ।’

‘कुरा स्पष्ट राख्न सक्ने कसैसंग नझुक्ने आफ्ना कुरा देशव्यापी लाग्ने र कार्यकर्ता बचाउने माया गर्ने काम गर्ने र देशको विकास गर्ने सबै गुण थियो’, महर्जनले भनेका छन्, ‘यहि महान्ता थियो तपाईसँग । तर कालले हजुरलाई हामीबाट चाँडै लग्यो ।’

‘आजपनि नेपाली राष्ट्रिय राजनीतिमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले खुमबहादुर खड्काको आवश्यकता महसुस गरिरहेका छन्’, युवा नेता महर्जनले भनेका छन् ।

स्व.खड्कालाई आदर्श र राजनीतिक गुरु मान्नेहरू देशभरि धेरै छन् । उनले कहिल्यै पनि कार्यकर्तालाई भेदभाव गरेनन् । त्यही स्वभावका कारण कार्यकर्ताहरूले खड्काको भौतिक शरीर नभए पनि अहिले पनि उत्तिकै माया गरेर स्मरण गर्छन् ।

दाङ जिल्लाको विकासमा आमूल परिवर्तन ल्याइदिएका स्व.खड्काले देशभरिका नेता कार्यकर्तालाई संरक्षण गर्न सक्ने क्षमता थियो । खड्काको त्यही क्षमताका कारण देशभरिका नेता कार्यकर्ताले मन पराउँथे ।

देशभरिबाट घरको ढोकामा आएर समस्या पर्‍यो भन्ने नेता कार्यकर्तालाई खड्काले कुनैन कुनै सहयोग गर्थे ।

कोइराला परिवारसँग टसल पर्नुनै खड्काका लागि ठूलो दुर्भाग्य नै भयो । कांग्रेसका केही नेता कार्यकर्ताहरूले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका कारण खड्कालाई भ्रष्टाचारको मुद्धामा फसाएको आरोप लगाउने गरेका छन् ।

खड्काले कोइराला परिवारलाई सधैँ आदर्श मान्थे । वीपी कोइरालाको संगतमा काम गरेका खड्काको क्षमताबाट गिरिजाप्रसाद र सुशील कोइरालाहरू तर्सिएको चर्चा हुने गरेको छ ।

खड्काको राजनीति सिध्याउन कोइराला परिवारको डिजाइनमा खड्कालाई फसाइएको चर्चा बेलाबेला हुने गरेको छ ।

बालुवाटारको सरकारी जग्गा बेचेर खाने, वाइड बडी काण्ड, एनसेल काण्ड, यती काण्ड, ओम्नी काण्ड गर्नेहरू खुलेआम अहिले पनि मन्त्रीसहितका उच्च पदमा बसेर छाती फुलाएर हिँडेका छन् ।

तर, खड्काको सम्पत्तिको आय स्रोतको काम मूल्र्याकन गरेर करीव एक करोड सम्पत्तिको स्रोत नखुलेको भन्दै भ्रष्टाचारको मुद्धा लगाएर डिल्लीबजार कारागार पठाइएको थियो ।

खड्गप्रसाद ओलीका मन्त्री गोकुल बास्कोटानै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको अडियो लिक हुँदा मन्त्री पद फुत्किएका पनि छन् । उनीहरूलाई कारबाही भएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नै लडाकुको शिविरको अर्बौं रुपियाँ घोटाला गरेको आरोप छ । तर, कुनै छानविन र कारबाही भएको छैन ।

स्व.खड्काको सम्झनामा गृहजिल्ला दाङमा शुभेच्छुकहरूले विभिन्न कार्यक्रम गरेर स्मरण गरेका छन् । उनीहरूले पार्टी कार्यालयमा दीप प्रज्वलन समेत गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डालमा पनि स्व.खड्काको स्मृतिमा शुभेच्छुकहरूले दीप प्रज्वलन गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, पूर्वउपाध्यक्ष पवन यादवसहितका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग द्वारा केन्द्रीय सचिव महर्जनको नेतृत्वमा स्व.खड्काको तेस्रो पुन्यतिथिका अवसरमा ललितपुरको महालक्ष्मी मन्दिरमा दीप प्रज्वजन गरिएको नेविसंघ ललितपुरका सचिव दीपक घिमिरेले बताएका छन ।

Published : Monday, 2021 March 29, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया