महन्थ ठाकुरले यी चार भाइलाई अन्याय गरे, दिए धाेका

काठमाडौं । महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा)मा पूर्वराजपा नेपालका नेताहरूलाई धोका दिएपछि हँगामा भएको छ ।

संयोजक ठाकुरले राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाएर वरीयतामा माथि राखेपछि जसपामाभित्र विवाद भएको हो ।

पूर्वराजपाका नेताहरू महिन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाले संयोजक ठाकुरले धोका दिएको भन्दै असन्तुष्ट भएका छन् ।

उपेन्द्र यादव नेतृत्वको दलसँग पार्टी एकीकरण गर्ने बेला ठाकुरले अध्यक्षमण्डलका सबै सदस्यहरूलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएका थिए । तर, ठाकुरले महतोलाई मात्रै काखी च्यापेपछि जसपामा विवाद भएको एक नेताले बताए ।

संयोजक ठाकुरसँग उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महताले पूर्वराजपाका चार नेताहरूलाई वरिष्ठ नेता बनाउन सकारात्मक नदेखिएपछि समस्या भएको हो ।

जसपाभित्रको विवादले समायोजन र जिम्मेवारी बाँडफाँटका विषयमा कुरा मिल्न सकेको छैन ।
कुरा नमिल्दा जसपाको बैठकहरूमा महिन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा सहभागी हुने गरेका छैनन् । यी चार भाईका कारण ठाकुरलाई समेत तनाब भइरहेको छ ।

केही दिन अगाडि डा.बाबुराम भट्टराईको निवासमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नयाँ मन्त्रिमण्डल बनाउने विषयमा पनि कुराकानी भएको थियो । त्यो बैठकमा डा.भट्टराई, ठाकुर, उपेन्द्रको मात्रै सहभागिता रहेको थियो ।

पार्टी एकीकरण भएको छोटो समयभित्र जसपाभित्र विवाद भएपछि सो पार्टीको भविष्यमाथि नै प्रश्न उठेको छ ।

Published : Monday, 2020 August 31, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया