कांग्रेसले जनसम्पर्क समिति अमेरिकामा विष्ट समूहलाई मान्यता दियो

न्युयोर्क । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशन प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिवार परिपत्र पठाएर अधिवेशन प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् ।

समितिका अध्यक्ष आनन्द विष्टको नाममा प्रेषित पत्रमा अधिवेशन प्रक्रिया तयारी अघि बढाउन भनिएको छ ।

पार्टीको परिपत्रमा असार २२ गतेको कांग्रेस बैठकले अनुसार कार्यकाल सकिएका सबै जनसम्पर्क समितिको ६ महिना अवधि थप गरी सोही अवधिभित्र अधिवेशन गराउन निर्देशन दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार ६ महिनाभित्र अधिवेशन गर्ने गरी तयारी गर्न र संगठनको पछिल्लो समयको गतिविधिबारे र कोरोना महामारीमा नेपाली समुदायको पछिल्लो स्थितिका विषयमा पनि कन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिइएको छ ।

पार्टीको यो परिपत्रसहित अब नेपाली जनसम्पर्क समिति, अमेरिका अधिवेशन प्रक्रिया सुचारु गर्न आन्तरिक तयारीमा जुटेको छ ।

आइतवार नै पार्टीको परिपत्रका सम्बन्धमा छलफल गर्न समितिको केन्द्रीय समिति बैठक आव्हान गरिएको छ ।

यस पहिले अप्रिल ११ र १२ का मितिमा अधिवेशन गर्न समितिले मिति प्रस्ताव गरी अनुमोदनका लागि पार्टी समक्ष पत्राचार गरेको थियो ।

कोरोना महामारीका कारण सबै प्रक्रिया अवरूद्ध भएकाले समितिको अधिवेशनसम्बन्धी अन्यौल बढेको थियो ।

नेपाली जनसम्पर्क समिति, अमेरिका अब समितिको सदस्यता वितरणसहित च्याप्टर अधिवेशन शुरु गरी अघि बढ्नेछ ।

पार्टीको निर्देशन अनुरुप क्रियाशील सदस्यता वितरण पनि शुरु गरी केन्द्रीय अधिवेशनका लागि तयारी गरिनेछ । अधिवेशनमा भएको ढीलाईप्रति निरन्तर खबरदारी गर्ने समितिका सबै सदस्य, शुभेच्छुक र सरोकारवालालाई नेपाली जनसम्पर्क समिति, अमेरिका धन्यवाद व्यक्त गर्दै अब अधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन अपील गरिएको छ ।

अध्यक्ष गोरख विष्ट ‘आनन्द’ जनसम्पर्क समिति अमेरिकाको एउटा समूहले कारबाही गरेर हटाइसकेको छ ।

असन्तुष्ट समूहले धनञ्जय नरसिंह केसीको नेतृत्वमा नयाँ कार्यसमिति नै बनाइसकेको छ । विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बनेपछि उनको अध्यक्ष पद स्वतः फुत्किएको थियो । तर, कांग्रेस मुख्यालयको यो पत्रले विष्टलाई नै अध्यक्षमा मान्यता दिएको छ । केसी नेतृत्वको कार्यसमितिलाई सानेपाले मान्यता दिएको छैन ।

Published : Sunday, 2020 August 30, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया