कम्युनिस्ट सरकारका मन्त्रीले दिए बिग्रिएको पीसीआर मेसिन, रेसुङ्गाका मेयरले काठमाडौं फिर्ता गरिदिए
तम्घास । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृहजिल्ला गुल्मीमा हस्तान्तरण गरिएको पीसीआर मेसिन कामै नलाग्ने बेकामको भएपछि काठमाडौं फिर्ता पठाइएको छ ।
पीसीआर मेसिन मन्त्री ज्ञवालीले सरकारको तर्फबाट दिएको होइनन् । गुल्मीका स्थानीय तहले खरिद गरेको मेसिनलाई ज्ञवालीले जस लिनका लागि हेलिकप्टरमा राखेर गुल्मी ल्याएर आफैले किने जसरी हस्तान्तरण गरेका थिए ।
कामै नलाग्ने मेसिन ल्याएको र मर्मत गर्ने अनेक प्रयास गर्दा पनि नभएपछि मेसिन नै काठमाडौ फिर्ता गरिएको हो ।
साउन ३ गते भव्य कार्यक्रम गरेर तम्घासमा मन्त्री ज्ञवालीले पीसीआर मेसिन रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरणपछि प्रयोगमा आउला भनेर प्रतीक्षा गरिएको मेसिन बिग्रिएपछि गुल्मेली जनता निराश भएका छन् । पीसीआर मेसिन बिग्रिएको विषयमा सोधिखोजी गर्दा बिग्रिएको, पाटपुर्जा नै नभएको र काम नलाग्ने मेसिन ल्याएर दिएको स्थानीयले आरोप लगाएका छन् ।
मन्त्री ज्ञवालीद्वारा हेलिकप्टरमा ल्याएर हस्तान्तरण गरिएको पीसीआर मेसिन बिग्रिएका कारण प्रयोगमा नल्याएको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताएका छन् ।
मेयर भुसालले पाटपुर्जा पूरा नै नभएको मेसिन ल्याइदिएकाले आफूले गाली खानु परेको भन्दै मन्त्री ज्ञवालीसँग पनि आक्रोश पोखेका छन् ।
मन्त्री ज्ञवालीले दिएको भनिएको पीसीआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रकम संकलन गरिएको थियो । मेयर भुसालले भने, ‘रेसुङ्गा नगरपालिकाको नेतृत्वमा पीसीआर मेसिन किनेका हौँ । सरकारले कुनै पनि सहयोग गरेको छैन ।’
सरकारसँग पीसीआर मेसिनका लागि सहयोग माग गरिएको भुसालले बताए । ‘पीसीआर मेसिन राख्न स्थान बनाइएको छ’, उनले भने, ‘मेसिन जडान भयो भने जनशक्ति राखेर कोरोनाको परीक्षण गर्ने छौँ । आवश्यक जनशक्ति राख्न आवेदन आह्वान गरिनेछ ।’
जनतालाई काम देखाउन र कामको श्रेय लिन मन्त्री ज्ञवालीले स्थानीय तहहरू मिलेर किनेको पीसीआर मेसिन काठमाडौंबाट हेलिकेप्टरमार्फत् ल्याएर हस्तान्तरण गरेका थिए ।
मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरू नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको भुसालले बताए ।
पूरा पाटपुर्जा नै नभएको मेसिन बनाउनका लागि नगरपालिकाले शुरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र त्यसपछि काठमाडौंबाट स्वास्थ्य प्राविधिकहरूको टोली ल्याएको थियो ।
ती सबै प्राविधिकहरूले पीसीआर मेसिनमा अत्यावश्यक पाटपुर्जाहरू नै नभएकाले यो मेसिन काम नलाग्ने र यहाँ बनाउन पनि नसकिने भएकाले काठमाडौं फिर्ता गर्नु भनेर सुझाव दिएका थिए ।
अपुरो मेसिनलाई गुल्मीमै मर्मत गर्ने प्रयास एक महिनासम्म भएको थियो । प्रयास सफल नभएपछि केही दिन अगाडि मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले पीसीआर मेसिन काठमाडौं लगेका छन् ।
रेसुङ्गा नगरपालिका मेयर भुसालले गुल्मीमै मर्मत गर्न नसकिएकाले मेसिन काठमाडौं फिर्ता गर्नुपरेको बताएका छन् । उनले प्राविधिक र उपकरणहरू उपलब्ध भएमा पीसीआर मेसिन फेरि गुल्मी ल्याएर सञ्चालन गर्न अझै १५ दिन लाग्न सक्ने जानकारी दिएका छन् ।
गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पच्याले पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमाडौंबाट आएको स्वास्थ्य प्राविधिकहरूको टोलीले आवश्यक पर्ने उपकरणहरू नभएको भनेकाले त्यो मेसिन काठमाडौं पठाएको बताएका छन् ।
उनले अब त्यही मेसिन आउँछ की अर्को मेसिन आउँछ भन्नेबारेमा आफूलाई जानकारी नरहेको जवाफ दिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पनि मेसिनमा विभिन्न पाटपुर्जा जडान गर्न काठमाडौं पठाइएको पुष्टि गरेका छन् ।
नेकपाका नेता समेत रहेका मन्त्री ज्ञवालीले काम नलाग्ने मेसिन तामझामका साथ दिएको देखाएर जनताको भावना र विश्वासमाथी खेलवाड गरेको कांग्रेसको आरोप छ ।
कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जनताको रकमबाट मन्त्री ज्ञवालीले नक्कली र बिग्रिएको पीसीआर मेसिन किनेर जनता ठग्न खोजेको दाबी गरेका छन् ।
उनले कम्युनिष्टहरू कामभन्दा प्रचार बढी गर्छन् र सेवाभन्दा स्वार्थ हेर्छन् भन्ने कुराको पुष्टि पीसीआर मेसिन काण्डले पुष्टि भएको बताए ।
मन्त्री ज्ञवालीले नै हेलिकोप्टरमा ल्याएर अत्यधिक प्रचार–प्रसारका साथ हस्तान्तरण गरिएको पीसीआर मेसिन काम नलाग्ने रहेको थाहा पाएपछि गुल्मीका जनता आक्रोशित बनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया