क्यापिटल मर्चेन्टका ऋणी र बैंकको रकम तिर्न तयार छु, मपनि पीडित हुँ, मेरो सुनवाइ कसले गर्छ ?
काठमाडौं । शम्भुबहादुर केसीले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका ऋणी र राष्ट्र बैंकको सबै हिसाब फरफारक गर्न तयार रहेको जनाएका छन् ।
क्यापिटल मर्चेन्टको विवादमा केसीले सजाय समेत भोगिसकेका छन् । केसीले राष्ट्र बैंकलाई तिर्नुपर्ने करीव २० करोड रुपियाँ र ऋणीहरूको सबै रकम चुक्ता गर्न तयार रहेको बताए ।
राष्ट्र बैंकले क्यापिटल मर्चेन्टको सबै जग्गा रोक्का गरेर राखेको छ । केसीले समस्याको समाधान गर्न आफू तयार रहे पनि जग्गा रोक्का भएपछि काम गर्न नसकेको बताए ।
क्यापिटल मर्चेन्टको अहिले पनि काठमाडौं उपत्यकाभित्र करीव ६–७ रोपानी जग्गा छ । सो जग्गा बिक्री गरेर राष्ट्र बैंकको २० करोडदेखि सबै ऋणीको रकम फिर्ता गर्न सकिने केसीले बताए ।
क्यापिटल मर्चेन्टको विवाद समाधान गर्नेतिर भन्दा पनि एउटा गिरोह विवादलाई अझै लम्बाएर स्वार्थपूर्तिमा लागेको छ । धितोमा रहेका ६–७ सय रोपनी जग्गामाथि अदृश्य गिरोहले नजर लगाएको छ । सोही कारण पनि समस्या समाधानतिर लैजानेभन्दा पनि विवाद खडा गरेर वर्षौंदेखि दुःख दिइरहेको छ ।
काम गर्दै जाँदा समस्या हुँदा त्यसलाई मिलाउन सकिने केसीले बताए । तर, समस्या समाधानभन्दा पनि आफूलगायतका ऋणीहरूलाई दुःख दिने कार्य भएपछि केसी आक्रोशित भएका छन् । ‘धितो रहेको जग्गाहरू क्रमशः बिक्री गरेर सबै ऋणीलाई दिन्छौँ । राष्ट्र बैंकको पैसा पनि तिर्छौं भन्दा पनि मागको सुनुवाइ नै हुँदैन’, केसीले भने, ‘मैले पाए जस्तो समस्या र दुःख अरु ऋणीहरूले पाउनु हुँदैन ।’
केसीले आफूले कुनै ठगी नगरेको बताए । ‘मेरो कुराको कतै पनि सुनुवाई भएन । म कति समस्यामा परेको छु भनेर कसैले सुनेन’, उनले भने, ‘मेरो मात्रै सहमति वा निर्देशमा सबै काम भयो भन्ने जसरी समाचारहरू आए । मपनि पीडित हुँ ।’
कम्पनी दर्ता र कारोबार गर्दा सबैको सहमतिमा गरेको उनले बताए । समस्या भएपछि सबै दोषी आफूलाई मात्रै दिएको उनको भनाइ छ ।
उनले ०६५–६६ मा हामीले जग्गा कारोबार गरेको बताए । ‘संस्थाका लागि जग्गाको काम गर्दा हामीले आफ्नो मान्छेको नाममा जग्गा राखेकै हो’, उनले भने, ‘यी हाम्रै मान्छेहरू हुन् । कम्पनी रजिस्ट्रारको कार्यालय नपुगी कसैको नाममा पनि कम्पनी दर्ता हुँदैन ।’
‘उहाँहरूले आफ्नो नागरिकता दिनुभएको छ’, केसीले भने, ‘मसँगै गएर आफ्नो नाममा कम्पनी दर्ता गर्नुभएको छ । सबै राजीखुसीले नै भएको हो ।’
काम गर्ने क्रममा केही व्यक्तिले पैसासमेत लगेको केसीले बताएका छन् । केसीको भनाइमा सहमतिमा काम गर्ने बेला सबै तयार भए ।
तर, समस्या भएपछि सबैले केसीको टाउकोमा जिम्मेवारी छाडेर भागेको देखिएको छ । कम्पनी दर्ता गर्ने क्रममा सम्बन्धित व्यक्ति पनि जानुपर्छ । कसैको नाममा कम्पनी दर्ता गरेर ठगी गर्न सहज हुँदैन । सबैको राजीखुसी र मञ्जुरी आवस्यक पर्छ ।
केसीले राष्ट्र बैंकले कारोबार र जग्गा फुकुवा गरिदिने हो भने त्यही जग्गा बिक्री गरेर सबै ऋण चुक्ता गरिदिने बताएका छन् ।
केसीले राष्ट्र बैंकसँग एक अर्ब ५८ कराेड राखेर धितो बिक्री गर्ने अनुमति माग्न गएको उल्लेख गरेका छन् । क्यापिटलले मान्छ भने धितो बिक्री गरेर ऋण तिर्न तयार रहेको बताए । धितोमा रहेका जग्गाहरू केसीको नाममा छैन । सबै ऋणीकै नाममा छन् । केसीले जग्गा बेचेर ऋण तिर्न पाइयो भने सबैको समस्या समाधान हुने बताएका छन् ।
क्यापिटल मर्चेन्ट प्रकरणका केसीले बाँकी रहेको जग्गा बिक्री गरेर ऋणी सबैलाई एक–एक करोड दिने योजना रहेको सुनाए । उनले राष्ट्र बैंकले जग्गा फुकुवा गरेर बिक्री गर्न अनुमति दिनेवित्तिकै सबै रकम चुक्ता गरेर समस्या समाधान गर्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया