कमल थापाको धम्कीले राणा र डा.लोहनी थुरुरु, मसी सुक्न नपाउँदै फुटको संघारमा राप्रपा

काठमाडौं । पार्टी एकीकरण भएको केही महिनाभित्र कमल थापाका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा खटपट शुरु भएको छ ।

चुनाव चिन्ह ‘गाई’ राख्ने कि ‘हलो’ राख्नेभन्ने विषयमा विवाद हुँदा राप्रपामा खटपट शुरु भएको हो ।

अध्यक्ष थापाले दोस्रो र तेस्रो वरीयताका अध्यक्षहरू पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीलाई धम्कीयुक्त शैलीमा चुनाव चिन्हलाई लिएर बखेडा नझिक्न चेतावनी दिएका छन् ।

थापाले प्रेस नोट जारी गरेर आफूले कसैको दवावमा काम नगर्ने धम्की दिएका छन् । ‘म दवावमा काम गर्दिन सबैलाई थाहा छ’, थापाले राणा र डा.लोहनीलाई धम्की दिएका छन् ।

‘राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण हुँदा सम्झौताको दफा (९) मा ‘पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ’ भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ’, थापाले भनेका छन्, ‘यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होइन ।

महिनौंको छलफल, विवाद र बहसपछि उक्त सहमति गरिएको हो । त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ ।’

थापाले भनेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुण राख्न नेतृत्वले समयमा आवश्यक, उपयुक्त र साहसिक निर्णय गर्नेछ ।’

‘कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन, आवश्यक छैन’, थापाले चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘भोलि सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’मध्य एक निर्णय हुनेनै छ । यो विवादले पार्टी एकता टुट्दैन । ढुक्क भए हुन्छ ।’

‘चुनाव चिन्ह प्राविधिक विषय हो । जे चिन्ह राखेपनि हुन्छ भन्नेले राप्रपा नेपाल हुँदै राप्रपासम्म आइपुग्दा गरिएको संघर्षलाई शायद बिर्सिएका छन् वा अनुभूत गरेका छैनन्’, अध्यक्ष थापाले भने, ‘गाई चुनाव चिन्ह लिन पनि सदनदेखि सडकसम्म संघर्ष गर्नु परेको छ ।’

‘संविधान जारी भएपछि राष्ट्रिय जनावर र हिन्दूधर्मको प्रतीक ‘गाई’ चुनाव चिन्ह दिन मिल्दैन भनेर ऐनको मस्यौदा गरियो’, उनले भने, ‘राप्रपाका सासंदहरूको जोडबलबाट पहिले पाइसकेको चुनाव चिन्हका हकमा भने त्यो व्यवस्था लागू नहुने प्रवधान थप गरियो ।’

समानुपातिकतर्फ ‘गाई’ चुनाव चिन्हमा राप्रपाकै ईतिहासमा अहिलेसम्मको सर्वाधिक ७ लाख मत परेको अध्यक्ष थापाले जनाएका छन् ।

अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिन्हबाट निर्वाचित रहेको उनले जनाएका छन् ।

‘गाई’ तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह रहेको उनले बताएका छन् । ०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटकमध्य एकको चुनाव चिन्ह ‘गाई’ थियो ।

‘फेरि राप्रपाको मुख्य एजेण्डा हिन्दूराष्ट्र हो । हिन्दूत्वको प्रतीक ‘गाई’ हो’, उनले भने, ‘यस्तो वास्ततिकता थाहा हुँदाहुँदै राप्रपाकै केही साथीहरू चुनाव चिन्ह जे भएपनि हुन्छ भन्दै हिँडेको देख्दा दुःख लाग्छ, चित्त दुख्छ ।’

‘चुनाव चिन्हका बारे देखिएको विवाद सामान्य हो । यसलाई मैले धेरै महत्व दिएको छैन’, उनले भने, ‘यो समाधान हुन्छ । पार्टी एक भएर व्यक्तिहरू एकठाउँमा उभिंदैमा राप्रपाको पक्षमा आकाशबाट ‘भोट’ वर्षा हुने हैन ।’

पार्टी एकीकरण भएको करीव ६ महिना पुग्दैछ । तर, एकताको भावनाअनुसार किन गति लिन सकेको छैन ? भनेर थापाले प्रश्न उठाएका छन् । उनले भने, ‘कंग्रेस र कम्युनिष्ट असफल भएर जनताले विकल्प खोजीरहेको बेला किन हामीले आफूलाई भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न सकेका छैनौँ ?’

‘हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा जनमत र आकर्षण बढिरहेको बेला हामीले आफ्नो उपस्थिति किन देखाउन सकेका छैनौँ ? यी र यस्ता विषयमा हाम्रो बहस र चिन्तन केन्द्रित हुनुपर्छ’, थापाले भनेका छन्, ‘चुनाव चिन्हको विवादले एकता रोकिंदैन, अडकिंदैन । त्यस बाहेकका अन्य महत्वपूर्ण विषयमा समयमा ध्यान गएन भने एक भएर पनि गन्तव्यमा पुग्न सकिन्न ।’

‘पार्टी संगठन र पार्टीको बिचारको प्रभाव बिस्तार यान्त्रिक ढंगबाट हुँदैन’, थापाले भनेका छन्, ‘त्यसका केही अनिवार्य पूर्वशर्तहरू छन् । त्यतापट्टि हाम्रो ध्यान जानु आवश्यक छ ।’

‘निश्चय पनि पार्टीको एकतालाई कायम राख्न हामी कुनै कसर बाँकी राख्दैनौं । ‘बोल्ड’ निर्णय गरेर पनि पार्टी एकता जोगाउने छौं’, उनले भने, ‘गैर जिम्मेवार कुरा गर्ने, राप्रपाभित्रै छिद्र पार्ने वा मिर जाफर प्रवृत्ति कायम गर्ने कार्यले भने परिणाम उल्टो हुनसक्छ । म दवावमा काम गर्दिन सबैलाई थाहा छ ।’

दोस्रो र तेस्रो वरीयताका अध्यक्षहरू राणा र डा.लोहनी तथा केही नेताहरूले चुनाव चिन्ह ‘हलो’ बनाउन माग गरिरहेका बेला पहिलो वरीयताका अध्यक्ष थापाले ‘हलो’लाई ईन्कार गरेर ‘गाई’लाई जबरजस्त रुपमा अगाडि सारेका छन् । थापाको यो कार्यले राप्रपाभित्र पुनः विभाजनको बीउ रोपिएको चर्चा भएको छ ।

Published : Tuesday, 2020 August 18, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया