कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

तीन दिन अगाडि शंका लागेर ललितपुरको स्टार अस्पतालमा नमूना परीक्षणका लागि दिएकी थिइन् । अस्पतालले मंगलबार रिपोर्ट पोजेटिभ आएको जनाएपछि होम क्वारेन्टिनमा बसेको उपाध्यायले बताइन् ।

‘मलाई अहिले स्वास्थ्य अवस्था सामान्य छ । पहिला देखिएका लक्षण पनि देखिएको छैन’, उनले भनिन, ‘कोरोनाले कसैलाई पनि सानो वा ठूलो भनेर छाड्दैन । हामी आफै सर्तक रहनुपर्छ । स्वास्थ्यसम्बन्धी सबै सुरक्षा आफै अपनाउन सबैलाई मेरो अपील छ ।’

साउन २५ गते हेटौँडास्थित सहकारीमा रहेका बेला कार्यालय सहायकलाई ज्वरो आएको थियो । सोही कार्यालय सहयोगमार्फत आफूलाई कोरोना संक्रमण सरेको हुन सक्ने उनले बताइन् ।

कार्यालय सहयोगीलाई स्वास्थ्यमा समस्या देखिएपछि उपाध्यायले नै नमूना परीक्षणका लागि आग्रह गरेकी थिइन् । ती कार्यालय सहयोगीलाई कोरोना देखिएपछि सम्पर्कमा रहेका सबै होमक्वारेन्टिनमा बसेको उनले बताइन् ।

हल्का ज्वरो देखिएपछि नेतृ उपाध्यायले नमूना परीक्षणका लागि दिएकी थिइन् ।

उनले काठमाडौंस्थित घरमा नै क्वारेन्टिनमा बसेर उपचार गराइरहेकी छिन् । नेतृ उपाध्यायको स्वास्थ्य अवस्था सामान्य रहेको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

Published : Tuesday, 2020 August 18, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया