बालुवाटारमा कड्किए देउवा, नियुक्तिहरू होइन, पहिला जनताको जीवन बचाउनुस् ओलीजी
काठमाडौं । कोरोना महामारीका बेला धमाधम ज्यान गइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले संवैधानिक नियुक्तिहरूका विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन् ।
सोमबार बालुवाटारमा ओलीले देउवासँग कतिपय संवैधानिक नियुक्तिहरूका बारेमा देउवासँग कसरी अगाडि बढ्ने भन्नेबारेमा कुराकानी गरेका हुन् । ओलीले संवैधानिक नियुक्तिहरूका विषयमा कुरा गर्न देउवालाई बालुवाटार बोलाएका थिए ।
‘कतिपय संवैधानिक नियुक्तिहरूबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीले विपक्षी दलको नेताका रूपमा सभापति शेरबहादुर देउवासँग परामर्श गर्नुभएको छ’, नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वहरू सिन्धुपाल्चोकको लिदीको पहिरो, कोरोना महामारीमा जनताले ज्यान गुमाउनुपरेको दुःखद् घटना, त्रिभुवन विश्व विद्यालयको विवाद र नेविसंघका विद्यार्थी पक्राउ परेका विषयमा कुरा राख्नुभयो ।’
सभापति देउवाले ओलीलाई संवैधानिक नियुक्ति गर्दै गर्दा कोरोना महामारीबाट दिन प्रतिदिन जनताले ज्यान गुमाउनु परेको भन्दै कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा विेशष ध्यान दिन आग्रह गरे ।
‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ’, देउवाको भनाइ उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन ।’
‘कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ?’, देउवाले ओलीसँग प्रश्न गरेका छन्, ‘आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?’
सभापति देउवाले भनेका छन्, ‘ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिनअघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद् भएको छ ।’
‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’, देउवाका ओलीलाई प्रश्न गर्दै भने, ‘देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।’
त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्री ओलीको ध्यान पुग्न जरुरी रहेको देउवाले बताएका छन् ।
‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो’, उनले भने, ‘प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरूको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने । अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन ।’
‘अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँन चाहन्छु’, देउवाले भनेका छन् ।
सभापति देउवाले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री ओलीसमक्ष आग्रह र माग गरेका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको कुरा सुनेपछि ओली चकित परेका छन् ।
ओलीले देउवाले उठाएका सबै कुरामा ध्यान दिएको परम्परागत जवाफ दिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पनि साथमा लिएर गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया