कांग्रेस बनाउन गल्तीबाट पाठ सिकौँ, होइन भने बारम्बार गल्ती दोहोरिनेछः युवा नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्रको आन्तरिक विवाद र शीर्ष नेतृत्वबीच देखिएको मनमुटावप्रति चिन्ता जनाएका छन् ।

कम्युनिस्टहरूको भ्रष्टाचार, बेथिति र अराजकताविरुद्ध कांग्रेस नेतृत्व एक भएर जाने बेला शीर्ष नेतृत्वबीच मनमुटाव देखिनुलाई राम्रो संकेत नरहेको खतिवडाले बताए । उनले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भयो भने मात्रै कम्युनिस्टहरूसँग भिड्न सकिने बताएका छन् ।

खतिवडाले ट्वीट गर्दै विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्ने बताएका छन् । ‘गल्तीबाट पाठ सिक्न सकिएन भने बारम्बार गल्ती दोहोरी रहन्छ’, खतिवडाले भने, ‘अनि परिणाम पनि कहिले सकारात्मक हुँदैन ।’

‘सबै एकताबद्ध भएर कांग्रेस बलियो र पहिलो पार्टी बनाउन लागौं’, उनले भने, ‘वडा सभापतिदेखि केन्द्रसम्म विवाद होइन विश्वास निर्माण गरौं ।’

कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर विभिन्न गतिविधिहरू भइरहेका बेला गुट र उपगुटका माध्यमबाट भएका मनमुटावप्रति युवा नेता खतिवडाले चिन्ता जनाएका हुन् ।

उनले कांग्रेसले निर्वाचनमा भोगेको पराजयलाई नेतृत्वले यति छिटै भुलेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । खतिवडाले शीर्ष नेताहरूलाई गाली गरेर समस्याको समाधान नहुने समेत उल्लेख गरेका छन् ।

Published : Saturday, 2020 August 15, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया