काठमाडौं उपत्यकामा १३८ संक्रमित थपिए, ८ जनाको मृत्यु, नयाँ रेकर्ड बनाउँदै कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ नयाँ सक्रमित थपिएका छन् । काठमाडौं उपत्यकासहित देशभरि कोरोनाभाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने यो संख्या उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १०९ जना संक्रमित थपिएको बताए । उनले ललितपुरमा २१ र भक्तपुरमा ८ नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । योसंख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा मुलुकभरि ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

डा.गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताएका छन् ।

उता, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणका क्रममा मृतक ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

पछिल्लो समय ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

मोरङका ५५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ । बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । मृतकमध्ये कतिपय दम, मधुमेह, उच्च रक्तचापजस्ता रोगबाट ग्रसित थिए ।

Published : Wednesday, 2020 August 12, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया