…त्यसपछि सुशील कोइरालाले यसरी बचाउनुभयो देश र जनतालाईः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले पूर्वप्रधानमन्त्री स्व.सुशील कोइराला देश र जनताका लागि बदनामी लिन तयार रहेका सच्चा राजनेता भएको टिप्पणी गरेका छन् ।

स्व.सुशील कोइरालाको ८१औँ जन्मजयन्तीका अवसरमा रिपब्लिका दैनिकसँग विगतका कुरा स्मरण गर्दै पूर्वमन्त्री थकालीले संविधान निर्माण गर्ने बेला नेतृत्वदायी भूमिका खेलेका सुशील कोइरालाले देश र जनताको लागि ठूलो योगदान दिएको बताए । उनले भने, ‘सुशील कोइरालाका कारण असन्तुष्ट राजनीतिक दलहरूले पनि संविधान मान्न तयार भएका हुन् ।’
संविधानसभाका सदस्य समेत रहेका थकालीले भने, ‘संविधान जारी गर्ने बेला सुशील कोइराला प्रधानमन्त्री र कांग्रेसको सभापति हुनुहुन्थ्यो । उहाँलाई संविधान जारी नगर्न ठूलो दवाव थियो । तर, उहाँले मान्नुभएन । संविधान जारी गर्नुभयो ।’ सुशील कोइरालाकै नेतृत्वमा त्यस बेला संविधान जारी भएपछि मुलुक एउटा ट्रयाकमा हिँडेको उनले बताए ।

‘संविधान जारी भएपछि मधेस केन्द्रित दलहरू असन्तुष्ट भएर ब्ल्यायक आउट गर्दै तराईमा आन्दोलनमा उत्रिका थिए । विभिन्न असन्तुष्ट समूहले आन्दोलनका धम्कीहरू दिइरहेका थिए’, कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले त्यस बेलाको राजनीतिक घटना स्मरण गर्दै भने, ‘संविधान कार्यान्वयन र संविधान सबैलाई मान्ने बनाउन के गर्ने होला भनेर सुशील’दा अत्यन्तै चिन्तत हुनुहुन्थ्यो ।’

‘कम्युनिस्टहरूको बहुमत हुँदा पनि पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेको थिएन’, उनले भने, ‘दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले ठूलो दल बनाइदिए । कांग्रेसले जिम्मेवारीअनुसार सबैलाई समेटेर संविधान जारी ग¥यो । त्यसमा सुशील कोइरालाको नेतृत्वदायी ठूलो योगदान र भूमिका रह्यो ।’

‘त्यस बेलाको एमाले र माओवादीलाई कांग्रेसको नेतृत्वमा संविधान जारी भएको मन परेको थिएन’, थकालीले भने, ‘संविधान जारी भएपछि कांग्रेसको सहयोगमा एमालेका खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने पूर्वसहमति थियो ।’

कांग्रेस नेता थकालीले भने, ‘मधेस केन्द्रित दलहरूलाई यहि बेला हो संविधान मान्न लगाउने भनेर सुशील कोइरालाले कांग्रेसका केही साथीहरूसँग परामर्श गर्नुभयो । कांग्रेसका केही नेताहरूले सुशील’दालाई प्रधानमन्त्रीमा उम्मेदवार बन्न सुझाव दिए । त्यो सुझाव आएपछि मधेस केन्द्रित दलहरूले मतदानमा भाग लिनुपर्ने सर्त उहाँले राख्नुभयो ।’

उनले भने, ‘त्यसपछि सुशील कोइरालाले यहि बेला हो मधेस केन्द्रित दलहरूलाई संविधान मान्ने बनाउने भनेर योजना बनाउनुभयो । म हार्छु तैपनि देश, जनता र संविधानका लागि म पुनः एक पटक पराजित हुन तयार छु भन्नुभयो ।’

सुशील कोइरालाले प्रधानमन्त्री निर्वाचनमा आफूलाई मधेस केन्द्रित दलहरूले भोट दिने हो भने उम्मेदवार बन्ने प्रस्ताव राखेको थकालीले बताए । ‘सुशील कोइराला उम्मेदवार बन्नुभयो । मधेस केन्द्रित दलहरू प्रधानमन्त्री निर्वाचनमा सहभागी भए । नयाँ संविधानअनुसार निर्वाचनमा भाग लिए । संविधान नमानेका मधेस केन्द्रित शक्तिलाई संविधान मान्ने बनाउनुभयो’, उनले भने, ‘त्यसपछि मधेस केन्द्रित दलहरूको आन्दोलन मत्थर भयो । देश ठूलो दुर्घटनाबाट जोगियो । उनीहरूको माग संविधान संशोधन गरेर पूरा गर्ने प्रयास भयो । त्यस बेलाको एमालेले अस्वीकार ग¥यो । भारतले पनि संविधानलाई मान्यता दियो ।’

उनले भने, ‘त्यस बेला सुशील कोइरालाको योगदानको कदर कसैले बुझेनन् ।’ बुझेकाले पनि सार्वजनिक रुपमा भन्ने आँट नगरेको उनले बताए ।

कांग्रेस नेता थकालीले भने, ‘सुशील कोइरालासँग कुनै सम्पत्ति थिएन । पत्नी, छोराछोरी थिएनन् । सादगी जीवन विताउने उहाँलाई प्रधानमन्त्री पदको लोभ भएर उम्मेदवार बन्नुभएको होइन । आन्दोलनकारी मधेस केन्द्रित दललाई संविधान मान्ने बनाउन उम्मेदवार बन्नुभएको थियो । होइन भने सुशील कोइराला त्यस बेला प्रधानमन्त्रीको उम्मेदवार नबनेको भए देश द्वन्द्वमा जाने थियो । मधेसमा आगो बल्ने थियो । कम्युनिस्टहरू सत्ताका लागि उग्र भएर आएका थिए । कम्युनिस्टलाई देशभन्दा पनि सत्ता प्यारो थियो । सुशील कोइरालाले नै आफूलाई बलिदानी दिएर देश बचाउनुभयो ।’

नेपाली कांग्रेसले स्व.सुशील कोइरालाको ८१औँ स्मृतिका दिन कुनै पनि औपचारिक कार्यक्रम राखेन । सभापति शेरबहादुर देउवाले एउटा विज्ञप्ति जारी गरेर पनि स्व.कोइरालालाई स्मरण गर्न सकेनन् ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, सह–महामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समेत विज्ञप्ति निकालेनन् ।

Published : Wednesday, 2020 August 12, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया