कांग्रेसको संगठन विभागको पहिलो बैठक सम्पन्न, कोरोना रोकथाममा कम्युनिस्ट सरकारको लापरबाही
काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागले कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा कम्युनिस्ट सरकारले लापरबाही गरेको भन्दै आलोचना गरेको छ ।
ललितपुरको सानेपास्थि पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको विभागको पहिलो बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले लापरबाही गरेको निर्णय गरेको सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
‘सरकारले कोरोना रोकथाममा गर्नुपर्ने कामहरू ईमान्दारिताका साथ गर्न सकेको छैन । कांग्रेसले कोरोना रोकथाममा सरकारलाई सबै सहयोग र साथ दिएको छ’, उनले भने, ‘कोरोना रोकथाममा जिम्मेवार र गम्भीर बनेर लाग्न सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।’
विभागका प्रमुख एवम् नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले विभाग गठन र विस्तार गरेकोमा सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिलाई धन्यावाद दिएको छ ।
संगठन विभागले पार्टीको १४औँ महाधिवेशनलाई सहयोग हुने गरेर आफ्ना कार्यक्रम र गतिविधिहरू अगाडि बढाउने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण राजनीतिक गतिविधिहरू गर्न कठिनाइ भए पनि सामाजिक दुरी कायम गरेर संगठन निर्माणका कार्यलाई अगाडि बढाउने निर्णय गरिएको कांग्रेसका युवा नेता एवम् विभागको सदस्य तिमिल्सिनाले बताए ।
विभागको अर्को बैठक असोजको ७ गते बस्ने निर्णय भएको छ । विभागको पहिलो बैठकमा उपत्यकामा उपलब्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया