काठमाडौं उपत्यकामा दुई हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण बढिरहेका बेला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यकबाहेकका सबै सेवा दुई हप्ताका लागि स्थगित गर्ने निर्णय गरेका छन् ।

तीन वटा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरिएको हो । शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्नेछन् । अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरू तथा भिडभाड हुने कार्यालयहरूमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भएको छ । सो विषयमा सम्बन्धित कार्यालय प्रमुखले नै निर्णय गर्नेछन् ।

मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय पनि तीन वटा जिल्लाका सीडीओहरूले गरेका छन् ।

उनीहरू सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय भएको दाहालले बताएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए ।

बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।

‘अब उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भएरनभएको पनि अनुगमन गर्ने निर्णय गरेका छौं’, उनले भनेका छन् ।

बैठकले उपत्यकाभित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेपछि यस्तो सर्तकता अपनाउने निर्णय भएको छ । काठमाडौं उपत्यका पछिल्ला दिनहरूमा कोरोनाभाइरसको संक्रमणबाट उच्च जोखिममा परेको छ ।

Published : Friday, 2020 August 7, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया