यस कारण गगन अरुभन्दा फरक छन्, दिए देउवा–पौडेललाई मनपर्ने सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीभित्रको विवादलाई समाधान गर्न र १४औँ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा सबैभन्दा धेरै चिन्तित हुनुपर्ने बताएका छन् ।

सोमबार थापाले सभापति देउवा १४औँ महाधिवेशन स्वतन्त्र र निष्पक्ष गर्नका लागि सबैभन्दा चिन्तित हुनुपर्ने बताएका हुन् । ‘महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाज्यू सबैभन्दा धेरै चिन्तित हुनुपर्छ’, थापाले भने, ‘उहाँलाई मैले अनुरोध गर्न चाहन्छु । यो मेरो अनुरोध पनि हो ।’

सभापति देउवाद्वारा विभागहरू गठन र विस्तार गरिएको सम्बन्ध केन्द्रीय सदस्य थापाले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएर महाधिवेशनको प्रक्रिया शुरु भइसकेको अवस्थामा विभागहरू गठन नगरेकै उचित हुने बताए ।

‘अहिले आएर महाविधेशन तिथिमिति प्राम्भर भएपछि विभागहरू गठनको काम गरेका छौँ’, उनले भने, ‘पहिला गर्न नसकेको विषय अर्थात विधानअनुसार तोकिएको समयभित्र विभाग बनाउन नसकेको कमजोरी हो । यो हामी सबैको गल्ती हो ।’

‘अहिले आएर विभागहरू गठन गर्दा अनावश्यक विवाद सिर्जना भएको छ । विभागहरूको औचित्यमाथि पनि प्रश्न भयो’, नेता थापाले भने, ‘कोरोनाका कारण एकठाउँबाट जान सकेका छैनौँ । महाधिवेशनलाई चुनौतीपूर्ण भएको छ । विभागले काम कसरी गर्ने ? औचित्य पुष्टि गर्न सक्दैनौँ ।’

‘नेपाली कांग्रेसको विधानले विभाग गठन गर्ने समय तोकेको छ । समयभित्र हामीले विभाग गठन गर्न सकेनौँ’, थापाले भने, ‘यो कमजोरी सभापतिको मात्रै होइन । सबै केन्द्रीय समितको हो । विभाग गठन समयमा हुन नसक्नुमा हामी सबै भागिदार छौँ ।’

उनले भने, ‘जेसुकै कारणले विभाग गठन गर्न नसके पनि त्यो कुरा स्वीकार गर्नुपर्छ । विभाग समयमा गठन हुन नसकेको यो गल्ती नयाँ कार्यसमितिले दोहोर्‍याउनु हुँदैन ।’

कांग्रेसका युवा नेता थापाले तत्कालीन सभापति सुशील कोइरालाको पालामा पनि अन्तिममा आएर विभागहरू गठन भएको स्मरण गर्दै भने, ‘सुशीला कोइरालाको पालामा पनि विभागहरू गठन भएको थियो । शेरबहादुर देउवाज्यूले त्यस बेला विरोध गरेपछि सबै कुरा स्थगन भएको थियो ।’

‘अहिले विभाग गठन भइसकेको छ । गठन भइसकेको कुरालाई फिर्ता लिनुस् भन्न मैले सक्दैन’, केन्द्रीय सदस्य थापाले भने, ‘जनु अवस्थामा छ, त्यसमै होल्ड गर्नुस् भन्न सक्छु । अर्को व्यवस्था नभएसम्मका लागि सभापतिज्यूले पनि रोक्नुपर्छ । होल्ड गर्नुपर्छ ।’

विभागहरू गठन र विस्तारको विरोध भइरहेका बेला कांग्रेसका युवा नेता थापाले अहिलेसम्म जे भयो त्यसलाई अहिलेकै अवस्थामा रोकेर वा स्थगन गरेर १४औँ महाधिवेशन गर्न सभापति देउवालाई सुझाव दिएका छन् ।

थापाको यो सुझावले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई पनि सहज हुनेछ । देउवालाई पनि विवाद समाधानका लागि उपयुक्त वातावरण बन्नेछ ।

Published : Monday, 2020 August 3, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया