राष्ट्र र जनताको हित विपरितको कम्युनिस्ट सरकारको बजेटः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारद्वारा आर्थिक वर्ष ०७७–७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको टिप्पणी गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा बजेटमा जनतालाई आश्वासन दिने तर, कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको उल्लेख छ ।

‘विगत दुई महिनाभन्दा बढी समयदेखि कोरोना भाइरसको कारणले सरकारले नै लकडाउन गरेको अवस्थामा सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प भएको र अन्य व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था र निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई व्यहोर्नु परिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरुलाई यस बजेटमा प्राथमिकता दिएको पाइँदैन’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरूलाई सम्बोधन हुने कुनै पनि ठोस कार्ययोजनाहरूलाई बजेटले सम्बोधन गरेको छैन’, कांग्रेसले भनेको छ ।

‘नेपालको मुख्य समस्यामध्येको एक रोजगारी हो, कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको संकटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सृजना गरी मुलुकको आर्थिक क्रियाकलापलाई गतिशील बनाउने र आम नागरिकहरूको क्रय शक्तिलाई पुनस्र्थापन गर्ने योजनाहरूलाई यस बजेटले प्राथमिकतामा राखेको छैन’, विज्ञप्तिमा उल्लेख छ ।

‘रोजगारीका नाममा आफ्ना सीमित कार्यकर्तालाई तत्काल लाभ पुग्ने किसिमका कार्यक्रमहरू समावेश भएका छन्, जसले बजेटको दुरुपयोगलाई बढवा दिनेछ’, कांग्रेसले भनेको छ, ‘फलस्वरुप नेपाली जनताको कल्याण हित हुने छैन ।’

‘विगतमा नेपाली कांग्रेसले प्रारम्भ गरी अगाडि बढाइएका योजना र कार्यक्रमहरू लाई वर्तमान सरकारले आफ्नो उपलब्धीको रुपमा प्रस्तुत गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रष्ट रुपमा त्यसको पूर्वाधारको बारेमा जनतालाई गुमराहा गर्न खोज्नु सरकारको निकम्बापन हो’, कांग्रेसले भनेको छ, ‘यसप्रति सरकार गम्भीर हुन जरुरी छ ।’

‘अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको छ’, प्रमुख सचेतक खाँणले भने, ‘राजश्वको संकुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले मितव्यीता अबलम्बन गर्नुपर्नेमा ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बजेट बनाएकोे छ, जुन कार्यान्वयन गर्न सरकारले सक्दैन ।’

‘आम्दानी अठन्नी खर्च रुपियाँ भने जस्तै बजेटले मुलुकमा ठूलो दुर्घटना निम्त्याउन सक्दछ’, कांग्रेसले भनेको छ, ‘राष्ट्र र जनताको हित विपरितको सरकारले ल्याएको बजेट नेपाली कांग्रेसलाई स्वीकार्य छैन । यस बारेमा सरकार बेलामै सच्चिनका लागि नेपाली कांग्रेस सचेत गर्दछ ।’

Published : Friday, 2020 May 29, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया