राष्ट्रियताको पक्षमा जबर्जस्त रुपमा उभियो कांग्रेस, संविधान संशोधनमा सकारात्मक

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग रहेको भन्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग कुटनैतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको पदाधिकारी बैठकले नेपालको अतिक्रमित भूमि कुनै पनि हालतमा फिर्ता गराउन कुटनैतिक सम्वाद र पहलहरू गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘सन् १८१६ को सुगौली सन्धीको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग हुन् र ती भू–भागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनु पर्दछ भन्ने नेपाली कांग्रेसले विगत देखि नै राख्दै आएको प्रष्ट धारणालाई दोहोर्‍याउँदै पदाधिकारी बैठकले नेपाल सरकारलाई उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्न फेरि पनि माग गर्ने निर्णय गरेको छ’, कांग्रेसका प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पदाधिकारी बैठकले गरेको छ’, शर्माले भने ।

संविधान संशोधनको प्रस्तावमा कांग्रेसले सहयोग गर्छ वा गर्दैन ? भनेर सोधिएको जिज्ञासामा प्रवक्ता शर्माले भने, ‘लिपुलेक, कालापनी लिम्पियाधुरा हाम्रो हो भनेर निर्णय गरेपछि के गर्ने भन्ने प्रश्न नै आउँदैन । अतिक्रमित भूमिका बारेमा हाम्रो धारणा स्पष्ट छ । अब अरु निर्णय केन्द्रीय कार्यसमितिले गर्छ । पदाधिकारीले सबै निर्णय गर्ने अधिकार राख्दैन ।’

स्रोतका अनुसार पदाधिकारी बैठकमा धारणा सबै नेताहरूले संविधान संशोधनको पक्षमा कांग्रेस जानुपर्ने धारणा राखेका थिए । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराएर संविधान संशोधनको पक्षमा जाने तयारी गरेको एक नेताले बताए ।

बैठकमा सभापति शेरबहादुर देउवा भारतद्वारा अतिक्रमित भूमि कुनै पनि हालतमा फिर्ता गर्नुपर्ने धारणा राखेका थिए । उनले भारतसँग कुटनैतिक वार्ता गरेर भूमि फिर्ता गर्नुपर्ने बताएका थिए । स्रोतले भन्यो, ‘सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा सहयोग गर्नुपर्छ । पदाधिकारीले मात्रै गरेर हुँदैन । केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराएर संशोधनमा सहयोग गरौँ ।’ देउवाको सो प्रस्तावमा सबैले सहमति जनाएका थिए ।

‘कांग्रेसले एकल महिला र अपांगता भएका नागरिकहरूको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाउँदै त्यसलाई पुनः कार्यान्वयनमा ल्याउन र समयानुकूल वृद्धि गर्न माग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘कांग्रेसले कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीमा मृत्यु भएका ३ नेपालीसंगै विदेशमा जीवन गुमाउने सबै नेपालीको आत्माको चीर शान्तिको कामना गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उपचाररत सबै नेपालीको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।’

‘जेलमा रहेका नेपाली कांग्रेसका सांसद अफताब आलमको घर रौतहटमा नेपाल प्रहरीले मध्यरातिको समयमा घर घेरेर तोडफोड समेत गरि आतंक मच्चाएको घटनालाई बैठकले निन्दा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा विशेष आमन्त्रितका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा प्रतिपक्षी नेता राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 May 24, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया