गुप्तचरले व्यक्तिको फोन ट्यापिङ गर्ने विधेयक पारित, कांग्रेस मौन

काठमाडौं । राष्ट्रिय सभाले गुप्तचर निकायलाई पूर्वस्वीकृति नलिइ फोन ट्यापिङ गर्न बनेकाे विधेयक पारित भएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकले ‘नेपाल विशेष सेवाको गठन र संचालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित गरेको हो । सो विधेयक बहुमतबाट पारित भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी कांग्रेस मौन बसेको छ ।

गुप्तचर निकाय ‘राष्ट्रिय अनुसन्धान विभाग’ले अदालत वा अन्य निकायको पूर्वस्वीकृति नलिई व्यक्तिले फोनमा गरेको कुराकानी रेकर्ड (इन्टरसेप्सन) गर्ने अधिकार दिने व्यवस्थासहितको राष्ट्रियसभाबाट पारित भएको हो ।

गुप्तचरसम्बन्धी यो विधेयक अब प्रतिनिधि सभामा पठाइनेछ ।

प्रतिनिधि सभामा यो विधेयक पारित भएमा व्यक्तिको फोनमा गरेको कुराकानी रेकर्ड गर्ने कानूनी अधिकार गुप्तचर निकायले पाउनेछ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई संविधानले दिएको स्वतन्त्रता र गोपनीयताको हक उल्लंघन हुने भन्दै विरोध गर्दै आएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले शंकास्पद लागेका जोसुकैले पनि फोनमा गरेको कुराकानी रेकर्ड गरेर सुन्न पाउने अधिकार गुप्तचरलाई दिनुपर्ने पक्षमा छन् ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गरेकी थिइन् ।

सांसद प्रमिला कुमारीले समितिमा आफूले राखेका कुरा विधेयकमाथिको प्रतिवेदनमा किन नसमेटिएको भनेर प्रश्न गरेकी थिइन् ।

नेकपाकी सांसद कोमल ओलीले विधेयकमा इन्टरसेप्सनको व्यवस्थाबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाइन् ।

ओलीले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र संविधान विपरीत काम गर्नेहरूको कुराकानी इन्टरसेप्ट गर्ने व्यवस्था विधेयकमा राखिएको बताइन् ।

विधेयकमा फोन इन्टरसेप्सनको दुरुपयोग गरेको खण्डमा जन्मकैदको सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तो मुद्दा भने विशेष अदालतमा मात्रै लाग्नेछ ।

Published : Wednesday, 2020 May 20, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया