जनताको जीवन ठूलाे हो, होटेलहरूलाई आईसोलेसन र क्वारेन्टाइन बनाऔँः कांग्रेस सांसद पन्थ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले विदेशमा कोरोना भाइरसका कारण तड्पिएका नेपाली नागरिकहरूको उद्धार आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै सांसद पन्थले प्राथमिकताका आधारमा विदेशमा रहेका नेपालीहरूको उद्धार अति आवश्यक रहेको बताए ।

‘कोरोनाका कारण समस्यामा परेकालाई सरकारले संकटमा परेका ८–१० लाख नागरिकलाई स्वदेश फर्काउन किन नसकेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘विदेशमा तड्पिएका नेपालीहरूमध्ये अत्यन्तै जरुरी र सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ ।’

‘नेपालमा निजीसमेत दर्जनौँ विमानहरू छन्’, पन्थले भने, ‘सुविधा सम्पन्न होटेलहरू पनि छन् । ती होटेलहरूलाई आइसोलेसन र क्वारेन्टाइनमा परिणत गरौँ ।’

‘पूर्व राष्ट्रसेवक कर्मचारीहरूलाई समेत प्रयोग गरौँ’, उनले भने, ‘सिमानामा फर्केकाहरूलाई समेत बस लगायत निजी क्षेत्रको सहकार्यमा उद्धार गरौँ । सरकारले लगानी गर्ने यतातिर हो ।’

‘यत्तिकै बस्नुभन्दा हवाइ सेवा, होटेलहरूले पनि काम पाउँछन् । लकडाउनले यो कार्य गर्न रोक्दैन’, उनले भने, ‘समस्यामा परेका जनतालाई राज्यले अभिभावक भएको अनुभूति दिओस् । हामीले नेपाली भएको गर्व गर्न सक्ने यो नै राष्ट्रियता हो ।’

Published : Wednesday, 2020 May 20, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया