सरकारको लापरबाही र समयमा उपचार नपाएर कोरोनाबाट महिलाको मृत्यु भयोः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभपाति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले धुलिखेलमा महिलाको समयमा उपचार हुन नसक्दा कोरोना भाइरसका कारण मृत्यु भएको भन्दै चिन्ता जनाएका छन् ।

संसदको आइतबार बसेको बैठकमा बोल्दै सभापति देउवाले समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएको भन्दै सिन्धुपाल्चोककि सुत्केरी महिलाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

‘म परीक्षण सामग्रीको अभावमा कोरोना परीक्षणको प्रतीक्षामा बसेका नागरिकहरू र भाईरसको महामारीले आफू र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला, यस्ले मुलुकलाई के गर्ला भनेर सन्ताप र त्रासमा बसेका नेपाली दिदिबहिनी, दाजुभाईको मनोदशा स्मरण गरिरहेको छु’, देउवाले भनेका छन्, ‘अनि हिजो मात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककि सुत्केरी महिला, उनको काखको शिशु र उनको परिवारको मनोदशा सम्झिरहेको छु ।’

‘सरकारले यी सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनु पर्ने समय हो’, उनले भने, ‘हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ ।’

‘सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ’, उनले भने, ‘तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।’

‘पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन’, देउवाले भने, ‘दोस्रो, सरकारलाई जनताको दुःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन ।’

‘तेश्रो, सरकारसंग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन’, उनले भने, ‘एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ ।’

‘यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ’, देउवाले भनेका छन् ।

‘यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको छ’, उनले भने, ‘नेपालमा पहिलो संक्रमित व्यक्ति ०७६ माघ १० मा भेटिएको ४ महिना पुग्न लाग्यो ।’

‘लकडाउन भएको पनि आज ५५ दिन पूरा भयो’, उनले भने, ‘हिजोसम्म पीसीआर विधिवाट केवल २६ हजार ६ सय ९१ जनाको मात्र परिक्षण भएको स्वयं सरकारी तथ्यांकले देखाउँछ ।’

‘यतीका दिनपछि पनि स्वास्थकर्मीको सुरक्षा उपकरण लगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनिय परिक्षण किटको अभाव हुनु, अस्पतालमा भेन्टीलेटर लगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, कोरोना प्रभाववाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमाना बाहिर बिचल्लीमा रहेका र देश भित्र नै पनि घरबाहिर असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित र ईज्जतपूर्वक घरमा पुर्याउने कुनै योजना नहुनुले जनताले सरकार भएको अनुभूति गरेका छैनन्’, सभापति देउवाले भनेका छन् ।

‘म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अबधीमा के तयारी गर्‍यो ?’, देउवाले भने, ‘परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको दृष्टान्त हो तयारी विहीनता ।’

‘विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन्’, देउवाले भने, ‘भारतीय सिमा नाकामा हजारौं नागरिक बिचल्लीमा परेका छन् ।’

‘तीनले सरकारवाट सुरक्षित रुपमा घर फर्किने वातावरण र सहजीकरणको अपेक्षा गरेका छन्’, उनले भने, ‘तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ ।’

‘स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पीसिआर परीक्षणको दायरा व्यापक रुपले समुदायस्तरमा पुर्‍याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको ब्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा ब्यवस्थित रुपले राखेर परीक्षण पश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन सरकार समक्ष माग गर्दछु’, देउवाले भनेका छन् ।

Published : Sunday, 2020 May 17, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया