नेकपाका शक्तिशाली धेरै नेताहरूकाे पद धरापमा, बचाउन खासखुस गर्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आउन दुई दिन बाँकी रहेका बेला ‘एक व्यक्ति, एक पद’को कुरा जोडदार रुपमा उठ्न थालेको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालयमा बहुमत पुर्याएर आन्तरिक विवाद समाधानको प्रयास गरिरहेका बेला पुनः पार्टीभित्र ‘एक व्यक्ति, एक पद’को आजाव उठेको हो ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूले यो कुरालाई उठाएका छन् । उनीहरूले सरकारलाई सहयोग गर्नका लागि पनि नेताहरूमा जिम्मेवारी बाँडफाँट अति आवश्यक रहेको जनाएका हुन् ।
ओलीले आफूले पूराअवधि प्रधानमन्त्री चलाउने र प्रचण्डलाई पार्टी एकलौटी रुपमा चलाउन दिने सहमति भएका समाचार बाहिर आइरहेका बेला यो विषय चर्चामा आउँदा नेकपामा संस्थापन पक्ष सशंकित बनेको छ ।
सचिवालयका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ दोहोरो जिम्मेवारीमा छन् ।
उपाध्यक्षको जिम्मेवारीमा रहेका गौतमले पार्टीभित्रको शक्तिशाली संगठन विभाग प्रमुख पनि सम्हाल्दै आएका छन् ।
पार्टी प्रवक्ता श्रेष्ठले प्रचार तथा प्रकाशन विभाग प्रमुख, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले स्कुल विभाग प्रमुख छन् ।
राजकीय मामिला तथा सुशासन विभाग प्रमुख रहेका रामबहादुर थापाले गृहमन्त्रीको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय विभाग प्रमुख, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा निर्वाचन विभाग प्रमुख, योगेश भट्टराईले पयर्टन प्रवर्धन तथा नागरिक उड्डयन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
जनार्दन शर्मा कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागमा उपप्रमुख छन् । कृषि तथा भूमिसुधारमन्त्री घनश्याम भुसालले प्रादेशिक मामिला विभागको प्रमुख छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहरी विकास विभाग, संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसदीय विभागको उपप्रमुखको दोहोरो जिम्मेवारी सम्हालेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा मानवस्रोत विभाग, ऊर्जामन्त्री वर्षमान पुनले जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण विभाग सम्हालेका छन् ।
केन्द्रीय कमिटीमा रहेका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पार्टीमा त्यही प्रदेशको सहइन्चार्ज, खानेपानी तथा सरसफाइमन्त्री विना मगरले पार्टीमा खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सहकारी तथा गरिबी निवारण विभाग, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रदेश इन्चार्ज तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको त्यही प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गण्डकी प्रदेशका दोस्रो वरीयताका आर्थिक मामिलामन्त्री किरण गुरुङले पार्टीमा त्यही प्रदेशको सहइन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया