नेपालगञ्ज र कोटहीमाईमा परीक्षणको दायरा बढाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग आग्रह गरेका छन् ।

प्रमुख सचेतक खाँणले सोमबार स्वास्थ्यमन्त्री ढकाललाई टेलिफोन गरेर नेपालगञ्जमा एकै दिने १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिन्ता जनाउँदै परीक्षणको दायरा बढाउन माग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण देखिएको नेपालगञ्जको सो स्थानमा व्यापक रुपमा परीक्षणको दायरा बढाउनुपर्ने विषयमा खाँणले मन्त्री ढकालको विशेष ध्यानाकर्षण गराएको संसदीय दलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

कुराकानीको क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्ने माग गरेका छन् ।

‘संक्रमितहरूले अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्दछ’, प्रेस नोटमा भनिएको छ ।

त्यसै गरी रुपन्देही जिल्लाको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाको वडा नम्बर १ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भन्दै ती युवकको सम्पर्कमा आएको व्यक्तिमा पनि संक्रमणको उच्च जोखिम भएको नेता खाँणले बताएका छन् ।

नेता खाँणले उनीहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्नेबारेमा स्वास्थ्यमन्त्री ढकालको ध्यानाकषर्ण गराएका छन् ।

स्वास्थ्य सामग्रीहरूको अभाव रहेको जानकारी गराउँदै तत्काल आवश्यक सामग्रीहरू व्यवस्थाका लागि पनि कांग्रेसका प्रमुख सचेतक खाँणले मन्त्री ढकालसँग आग्रह गरेका छन् ।

जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरूमा यथाशीघ्र पठाइने बताएका छन् ।

Published : Monday, 2020 May 4, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया