गगनसहितका नेताहरू भन्छन्, ‘परीक्षणमा ढिला भयो, कोरोना घोटालाका दोषीलाई कारबाही गरौँ’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेताहरूले लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान नरहेको भन्दै बैकल्पिक व्यवस्थाहरू गर्न सरकारलाई सुझाव दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका झण्डै दर्जन नेताहरूले नेपालले अवलम्बन गर्नुपर्ने केही बिकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले अहिलेसम्म भइरहेको परीक्षणको गति अत्यन्त सुस्त रहेको बताएका छन् । यस्तो गतिमा गरिने परीक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन नसक्ने नेताहरूले जनाएका छन् ।
सरकारले परिक्षणको दायरा र गति बढाउनु पर्दछ।यसका लागि परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्ने कांग्रेस नेताहरूले बताएका छन् ।
‘कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पीपीइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गरिनुपर्छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस् ।’
‘यस माहामारी कै कारण विदेशबाट नेपाल आउन चाहने नेपालीहरूलाई सहजै आउनदिने ब्यवस्था मिलाइनु पर्छ’, उनीहरूले भनेका छन्, ‘सीमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ ।’
‘आवश्यक स्वास्थ्य परीक्षणको प्रकृया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्दछ’, कांग्रेसका युवा नेताहरूले भनेका छन् ।
‘कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका सम्बन्धित सबै ब्यक्तिहरूको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्दछ’, नेताहरूले भनेका छन्, ‘सुरक्षाकर्मीहरूको तलब कटाउने कार्य सर्वथा अनुचित छ । सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ ।’
कांग्रेसका नेताहरूले स्वास्थ्यकर्मी लगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गरिनुपर्ने जनाएका छन् ।
खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राख्न कांग्रेसका केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।
पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौती गर्दै जनताको हितमा लगाउन कांग्रेस नेताहरूले सरकारलाई सुझाव दिएका छन् ।
कांग्रेसका नेताहरूले दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरू तथा वृद्धवृद्धाका लागि यथोचित राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।
संसारभरि रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आवश्यक सहयोग गर्न कांग्रेस नेताहरूको सरकारसँग माग छ ।
कोरोना भाइरसका कारण नेपालीहरूको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको भन्दै किसानहरूका पशुचौपाया समेत खाद्यान्नको अभावमा परेर मर्ने खतरा बढेकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको बिकल्प छैन’, उनीहरूले भनेका छन्, ‘यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुँदैन ।’
‘राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो’, उनीहरूले भनेका छन्, ‘यस्ता अप’राधीहरूलाई राष्ट्रले माफ गर्न सक्तैन । अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्ति ले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुनेछन् ।’
‘हामी नेपालीहरूले आफ्नो देशको मात्र होइन, संकट परेको बेला विश्वलाई नै योगदान दिन सक्छन् भन्ने सन्देश दिदै आफ्नो कुशल नेतृत्व र भूमिका प्रदर्शन गर्न सक्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेहरूमा गगन थापा, बद्री पाण्डे, रामकृष्ण यादव, कल्याण गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, र किरण यादव रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया