घरमै बसेर सहयोग गर्न तरुण दलको अपील
काठमाडौं । नेपाल तरुण दलले अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्कन अपील गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।
‘विभिन्न कामका लागि नेपाल बाहिर गएका सम्पूर्ण नागरिकलाई जो जहाँ हुनुहुन्छ केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘समाजिक संजाल, अनलाइन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनहुन सम्पूर्ण संचार माध्यमहरूसंग अनुरोध गरिन्छ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।
‘समाजिक संजाल लगाएत अन्य माध्यममा अनावश्यक अपवाह फैलाइएको देखिएकोले अपवाह फैलाई त्रसित बनाउने जो कोहीलाई कडाभन्दा कडा कारवाही गरियोस’, बस्नेतले भनेका छन्, ‘त्यसका लागि नेपाल तरुण दल नेपाल सरकार र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सदैब तत्पर रहने जानकारी गराउदँछौँ ।’
‘हाल ठूला तारे होटलहरू बन्द अवस्थामा रहेका हुनाले होटल संचालक निकायसंग आवश्यक सल्लाह गरी उक्त होटलहरू आइसोलेसनका लागि तयारी अवस्थामा राखियोस्’, अध्यक्ष बस्नेतले भनेका छन् ।
‘धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटलहरू, तालिम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगको लागि सम्बन्धित निकायसंग सर सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाइयोस्’, विज्ञप्तिमा भनिएको छ ।
‘मास्क, औषधि, सेनिटाइजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरू पत्ता लगाई कडाभन्दा कडा कारवाही गरियोस’, तरुण दलले भनेको छ, ‘जनताका न्यूनतम सेवा सुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गरियोस् ।’
‘स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधामा प्रबन्ध गरियोस्’, तरुण दलले भनेको छ ।
‘केही समयका लागि अति आवश्यक बाहेक अन्य कार्यहरू बन्द गर्नुपर्ने अवस्था आएकाले दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने वर्ग मारमा पर्ने देखिन्छ’, बस्नेतले भनेका छन्, ‘यसकारण यो वर्गको दैनिक जीवन निर्वाहको लागि सरकारका तर्फबाट आवश्यक प्रबन्ध गरियोस् ।’
‘निजी क्षेत्रबाट हवाईसेवा प्रदान गर्ने केही कम्पनीहरुले तोकिएको भन्दा अत्याधिक भाडा असुलेको देखिनमा आएकोले सो कार्य तत्काल रोक्न नेपाल तरुण दल ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘सकेसम्म लामो दुरीको यात्रा नगरौ यदि गर्नैपर्ने अवस्था आएमा यसका लागि सरकारका तर्फबाट सुरक्षित र सुलभ यातायातको प्रबन्ध गरियोस’, नेपाल तरुण दलले भनेको छ ।
‘अन्त्यमा सम्पूर्ण निकायलाई आफू र आफू वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया