कांग्रेसले शानदार रुपमा जितेको धरानका मेयरलाई साथ दिन आए खनाल

धरान । नेपाली कांग्रेसले जितेको धरान उपमहानगरपालिकामा मेयर तिलक राईलाई साथ दिन नयाँ प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल आएका छन् ।

झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले खनाललाई धरानमा प्रमुख प्रशासकीय प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।

खनाल उपसचिवबाट हालै मात्रै सहसचिवमा बढुवा भएका हुन् । खनालले सोमबारदेखि नै धरान उपमहानगरपालिकाको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि धरानमा उपसचिव विनोद पोखरेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।

सहसचिव सुमन घिमिरे जनप्रतिनिधि र विगतको स्थानीय निकाय (धरान)का कर्मचारीहरूसँगको मतभेदपछि मन्त्रालयमा तानिएका थिए ।

घिमिरे मन्त्रालयमा तानिएपछि पोखरेलले निमित्त प्रमुख भएर धरानको जिम्मेवारी सम्हालेका थिए ।

धरान उपमहानगरपालिकाको कार्यपालिका र नगरसभामा नेकपाको दुईतिहाईको बहुमत छ । उपनिर्वाचनबाट मेयरमा कांग्रेसले जितेको छ ।

कम्युनिस्टहरूको बहुमत रहेको र काम गर्न समस्या हुनेभन्दै सहसचिव र निजामती कर्मचारीहरू धरान उपमहानगरपालिकामा आउन रुचाउँदैनन् ।

प्रमुख प्रशासकीय अधिकृत खनालले आफू भर्खर धरान आएकाले बुझ्ने क्रममा रहेको बताएका छन् ।

Published : Wednesday, 2020 March 18, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया