दाँत धकेल्न ओखलढुंगामा मन्त्रीसहितका कम्युनिस्टहरूकाे तछाडमछाड, देखाए नाैटंकी

ओखलढुंगा । ओखलढुंगा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र प्रदेश मन्त्रीहरूले दाँत धकेलेर दन्त शिविरको उदघाटन गरेका छन् ।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा दन्त शिविरमा नेकपाले नाटक देखाएको भनेर आलोचना भएको छ । चैत ३ गते जेष्ठ नागरिकलाई दाँत उपहार दिएर दन्त शिविर उदघाटन गरेको यो फोटो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । धेरैले कार्यक्रम उदघाटन गर्ने शैलीप्रति व्यंग्य गरेका छन् ।

‘ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम तथा नोबेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम’को ब्यानर नेकपाका नेता र मन्त्रीले दाँत ढकेलेर उदघाटन गरेका हुन् ।

ब्यानर अगाडि उभिएर डाक्टरले दाँत नभएकी एक जना वृद्धाको मुखमा कृत्रिम दाँत राखिदिन्छन् । अतिथिहरूले उक्त दाँतलाई छोएर फिट गरिदिएजस्तो गरेर दुनियालाई हँसाएका छन् ।

दाँत छुन नसक्नेहरूले जसले छोएको छ त्यही व्यक्तिको हात छोएका छन् । दाँत नभएका सबैलाई दाँत उपहार दिने अभियानअन्तर्गत सोमबार सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि थिइन् प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नवराज केसीले गरेका थिए । अतिथिको रुपमा प्रदेश सांसद मोहनकुमार खड्का, चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष अजय लुइँटेल र विभिन्न राजनीति दलका नेताहरू सहभागी थिए ।

गाउँपालिका अध्यक्ष नवराज केसीले कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायबारे जानकारी दिन र दाँत नभएका सबैलाई दाँत उपहार दिने अभियान गाउँपालिकाका बिभिन्न स्थानमा चलाएको बताए । उनले डेन्टिस्ट केशव रिमालबाहेक अरुले मुखमा नछोएको दाबी गरेका छन् ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार दाँत उपहार दिने र कोरोनाबारे जनचेतना जगाउने कार्यक्रम चैत ६ गतेसम्म जारी हुनेछ । यही कार्यक्रम ५ र ६ गते पलापुमा पनि हुने भएकाले शिविरको फाइदा लिन गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ ।

दाँत उपहार दिने र कोरोनाबारे सचेतना जगाउने कार्यक्रमका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपियाँ नगद र पूर्वाञ्चल डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको उनले बताए ।

Published : Wednesday, 2020 March 18, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया