नेकपाका ‘गुण्डा’लाई साथ दिएर वडाध्यक्ष धम्काउने ललितपुरका इनिस्पेक्टरको जागिर धरापमा

ललितपुर । ललितपुर जिल्लामा प्रहरी निरीक्षक राजन लम्सालले बागमती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनासहितका जनप्रतिनिधि र स्थानीयलाई गोली हान्ने चेतानवी दिएपछि पूरै वडा अन्दोलित हुन पुगेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक लम्सालले ‘गुण्डा नाइके’ सन्तोष खड्कालाई मंगलबार साथ दिएर बागमती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तिमिल्सिनासहितका जनप्रतिनिधिहरूलाई गोली ठोक्ने चेतावनी दिएपछि भागाभाग भएको हो । निरीक्षक लम्सालको गैरजिम्मेवार हर्कतविरुद्ध वडाध्यक्ष तिमिल्सिनाले बुधबार अत्यावसेक सेवा बाहेकका सबै गाडी बन्दको आह्वान गरेका छन् ।

भट्टेडाँडा छपेली प्रहरी चौकीमा वडाध्यक्ष तिमिल्सिनाको एक्जभेटरको चाबी स्थानीय ‘गुण्डा’ नाइके सन्तोष खड्काले खोसेपछि उत्पन्न भएको विषयमा छलफल गराइसहमति गराउन गएका निरीक्षक लम्सालले गोली हान्ने चेतावनी दिएका थिए । वडाध्यक्ष तिमिल्सिनाले चाबी खोस्नेहरूविरुद्ध उजुरी दर्ता भइसकेको अवस्थामा निरीक्षक लम्सालले झन् विवाद खडा गरेको बताए ।

छलफलमा जम्मा भएका झण्डै २ सय जना स्थानीयको भीडबाट वडासदस्य नवराज खड्का, गोविन्द दाहालसहितका छ जनालाई आफ्नो गाडीमा राखेर निरीक्षक लम्सालले सिडिओ कार्यालय लैजाने भनेर गाडीमा हाल्न खोजेपछि स्थानीयले आक्रोश पोखेको वडाध्यक्ष तिमिल्सिनाले बताए ।

‘विवाद समाधान गर्न आउनुभएका प्रहरी निरीक्षक राजन लम्सालले कुरा मिलाउनेभन्दा पनि बालुवाखानीबाट दश लाख माग गरेर एक्साभेटरको चाबी खोस्नेहरूको पक्ष लिनुभयो’, वडाध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रो कुरा सुन्नुभएन । उल्टै हाम्रा जनप्रतिनिधिहरूलाई पक्राउ गरेर सिडिओ कार्यालयमा लैजाने धम्की दिनुभयो । उहाँले गोली चलाउने धम्की दिनुभयो । त्यसपछि हामी ज्यान जोगाएर भाग्यौँ ।’

प्रहरी निरीक्षक लम्सालले आफूले गोली ठोक्ने चेतावनी नदिएको दाबी गरे । उनले पक्राउ गर्दा नमाने बल प्रयोग गर्ने भनेर आफूले धम्की दिएको स्वीकार गरेका छन् ।

आफूलाई बालुवाखानी संघर्ष समितिको संयोजक बताउने सत्तारुढ नेकपाका स्थानीय नेता समेत रहेका गुण्डा नाइके सन्तोष खड्काले वडाध्यक्षको बालुवाखानीसँग दश लाख माग गरेर एक्जाभेटरको चाबी सोमबार खोसिदिएका थिए ।

स्थानीय गुण्डाको आरोप लाग्दै आएका सन्तोष खड्काले दलबलसहित सोमबार चाबी खोसेका थिए । सोही कारणले विवाद बढेर गएको थियो ।

सन्तोष खड्काले आफूले दश लाख रकम माग नगरेको दाबी गरे । ‘मन्दिर बनाउन पैसा मागेको कुरा सत्य हो । दश लाख होइन पाँच लाख हो । उहाँहरूले सहमतिअनुसार पैसा नदिएपछि चाबी खोसेका हौँ’, उनले भने, ‘बालुवाखानीले स्थानीयलाई असर परेको छ ।’

वडाध्यक्ष तिमिल्सिनाले बागमती गाउँपालिकाको मापदण्डभित्र रहेर कानूनअनुसार आफूले बालुवाखानी चलाएको बताए । वडा सदस्य नवराज खड्का, गोविन्द दाहालसहितकाले नजिकै ‘वासिङ मेसिन’ चलाएको तिमिल्सिनाले बताए ।

मन्दिर बनाउने बहानामा नेकपा निकटका स्थानीय गुण्डा नाइके सन्तोष खड्काले बालुवाखानीसँग दश लाख माग गरेका थिए । तर, बालुवाखानी सञ्चालक वडाध्यक्ष तिमिल्सिनाले दश लाख दिन नसक्ने बरु पाँच लाख दिने बताउँदै आएका थिए । त्यति मात्रै होइन वडाध्यक्ष तिमिल्सिनाले वार्षिक रुपमा दुई लाख पनि उपलब्ध गराउने सहमति जनाएका थिए ।

सोही विषयमा नेकपा निकटका सन्तोष खड्काले लफडा निकालेको वडाध्यक्ष तिमिल्सिनाले बताए । कानूनअनुसार काम गरेको बालुवाखानीमा हस्तक्षेप गरेर सन्तोष खड्कासहितको समूहले एक्जाभेटरको चाबी खोसेको भन्दै वडाध्यक्ष तिमिल्सिनाले भने, ‘दोषीलाई कारबाही गर्नुको साटो दोषीसँग साँठगाँठ गरेर प्रहरी निरीक्षक राजन लम्सालले हामी पीडितलाई नै गोली ठोक्ने भन्दै धम्की दिनुभयो ।’

प्रहरी निरीक्षकले गोली हान्ने भनेर धम्की दिएको तथा दोषीहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै बुधबार वडा नम्बर ३ का स्थानीयले चक्का जाम र प्रदर्शनको कार्यक्रम राखेका छन् । वडाध्यक्ष तिमिल्सिनाले दोषी प्रहरी निरीक्षकलाई कारबाहीको माग राखेर बुधबार प्रदर्शन गर्न लागेको जानकारी दिए ।

सो घटनामा गोदावरी नगरपालिका वडा नम्बर ११ का ‘टोले गुण्डा’ राम तामाङ, ईश्वरमान तामाङ, नवराज तामाङले नेकपाका सन्तोष खड्कालाई साथ दिएको आरोप छ । यो समूहले नेकपाका प्रतिनिधि सभाका सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलका आडमा बागमती गाउँपालिकामा बालुवाखानीसँग दश लाख माग गरेको जनाइएको छ । यो समूहले बागमती गाउँपालिका अबैध असुली धन्दा चलाउँदै आएको स्थानीयको भनाइ छ ।

नेपाल तरुण दल बागमती गाउँपालिकाका अध्यक्ष नवराज खड्काले सत्ताको आडमा नेकपाका स्थानीय नेताहरूले अबैध गतिविधि सञ्चालन गरेको आरोप लगाए । उनले यस्ता गतिविधिहरू तत्काल रोक्न प्रहरीसँग माग गरेका छन् ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कानूनअनुसार दर्ता भएर सञ्चालन गरिएका बालुवाखानीमा अबैध असुली गर्ने र काममा अबरोध गर्ने गतिविधि उचित नभएको बताए ।

उनले प्रहरीको काम भनेको जनतालाई शान्ति सुरक्षा दिने रहेको भन्दै जनप्रतिनिधिलाई गोली ठोक्छु भनेर त्रर्साउन कार्यप्रति खेद प्रकट गरेका छन् । गाउँपालिकाका अध्यक्ष लोप्चनले प्रहरी निरीक्षक लम्साल र दश लाख मागेर धम्की दिने सन्तोष खड्कालाई कारबाहीको माग गरेका छन् ।

बागमती गाउँपालिकाले बालुवाखानीहरूबाट मात्रै अन्तरिकतर्फ ५ करोडभन्दा बढी राजश्व आम्दानी गर्छै आएको छ ।

Published : Tuesday, 2020 March 17, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया