देउवाद्वारा सेल्फ क्वारेन्टाइनमा बस्ने गरिव व्यक्तिहरूलाई राहत माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
देउवाले सोमबार विज्ञप्ति जारी गरेर कोरोना विश्वव्यापी रूपमा महामारीको रूप लिइसकेको अवस्थामा नेपालले पनि अपनाउनुपर्ने सतर्कताबारे आफूहरू गम्भीर रहेको बताएका हुन् । उनले जोखिमको सामना गर्न साथ रहने बताएका छन् ।
‘तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउँदछु’, उनले भनेका छन् ।
देउवाले नौ बुँदे ध्यानाकर्षण गराउँदै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा गरिबीको रेखामुनी रहेकालाई सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।
‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा गरिबीको रेखामुनि रहेका, दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई कष्टकर अवस्था बन्ने देखिन्छ’, सभापति देउवाले भनेका छन्, ‘तिनका लागि राहतको योजना ल्याउन सरकारसमक्ष माग गर्दछु ।’
‘सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपील गर्दछु’, देउवाले भनेका छन् ।
‘संभावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औल्याउन चाहन्छु’, उनले भनेका छन् ।
‘अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको ध्यानाकर्षण गराउन चाहन्छु’, देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसंगै कालोबजारी फस्टाएको छ’, उनले भनेका छन्, ‘बजारमा सरकारका सम्बन्धित निकायको उपस्थितिबाट उपभोक्ताको हितसंरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।’
‘सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ, उनले भनेका छन्, ‘पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य व्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु ।’
‘विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदछु’, उनले भनेका छन् ।
‘स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपील गर्दछु’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया