गगनलाई देखेपछि सिटौलाको अनुहार उज्यालो, धना खतिवडाको अपमान

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफ्नो शक्तिसञ्चय सार्वजनिक गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र नेता प्रकाशमान सिंहसहितका नेताहरूले सभापति देउवालाई घेराबन्दी गर्न खोजिरहेका बेला सिटौलाले आफ्नो शक्ति देखाएका हुन् ।

सिटौला समूहको कार्यक्रमले सभापति शेरबहादुर देउवालालाई राहत मिलेको छ । सिटौला समूह देउवाप्रति केही नरम देखिएको छ ।

केही दिन अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलले गगन थापा र प्रदीप पौडेलले सिटौला समूह छाडेर आफूहरूको समूहमा आएको बताएका थिए । तर, सोमबार भएको कार्यक्रममा गगन र प्रदीपले आफूहरू दायाँबायाँ नगरेको बताएका थिए ।

सिटौला समूहको भेला केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाइँ, प्रतिनिधि सभाका सांसद भीमसेनदाश प्रधान, पूर्वसांसद तारामान लिम्बु, धना खतिवडा र मुक्ता यादव, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले, नेविसंघकी उपाध्यक्ष तुलसा पन्त, महामन्त्री युवराज पाण्डेलगायत २–३ सय जनाको उपस्थिति रहेको थियो । उमाकान्त चौधरी गृहजिल्ला बारा गएकाले कार्यक्रममा अनुपस्थित रहेका थिए ।

कार्यक्रममा धारणा राख्ने नेताहरूले १३औँ महाधिवेशनको बेलाको आफूहरूको टिम अहिले पनि यथावत रहेको बताएका थिए । उनीहरूले १४औँ महाविधेशनमा पनि आफू एक भएर जाने बताए ।

कार्यक्रममा युवाहरूको उपस्थिति बाक्लो थियो । कार्यक्रमस्लमा प्रवेश गर्ने क्रममा गगन थापालाई सबैले ताली बजाएर स्वागत गरेका थिए । सिटौला आएको केही समयपछि गगन कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।

कार्यक्रमस्थलमा गगन थापालाई नदेखेपछि नेता सिटौला मलिन देखिएका थिए । एकछिनमा गगन कार्यक्रमस्थलभित्र प्रवेश गरेपछि सिटौलाको अनुहार उज्यालो देखिएको थियो ।

कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ र नेपाल महिला संघकी महासचिव एवम् पूर्वसांसद धना खतिवडालाई बोल्न दिइएन । समापनका बेला वरिष्ठताका आधारमा धना खतिवडालाई बोल्ने समय दिनुपर्ने थियो । तर, खतिवडालाई समय नदिएर मुक्ता यादवलाई बोल्ने समय दिइएको थियो ।

कार्यक्रम सञ्चालक एवम् नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले बोल्न समय नदिएको विषयमा जिज्ञासा राख्न महिला संघकी महासचिव खतिवडासँग सम्पर्क गर्दा उनले फोन उठाइनन् । कार्यक्रमको सबै स्वरुप र नियन्त्रण तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने बेला पनि नेता सिटौलाले तिमिल्सिनाले एक्लै कार्यक्रम राखेर सामथ्र्यता देखाएको भनेर प्रशंसा गरेका थिए । नेता सिटौलाले महिला नेतृहरूले कार्यक्रम गर्न नसकेको तथा महिलाहरूलाई पनि बोलाउन नसकेको भन्दै खतिवडातिर संकेत गर्दै आलोचना गरेका थिए ।

‘यो कार्यक्रम गर्न बलदेवजीले ठूलो भूमिका खेल्नुभएको छ’, सिटौलाले भनेका छन्, ‘कार्यक्रममा १–२ प्रतिशत पनि महिला छैनन् । पद मात्रै ओगटेर हुँदैन । कार्यक्रममा महिलालाई पनि ल्याउनुपर्छ ।’

सिटौलाको सोही अभिव्यक्ति सुनेर हुनुपर्छ कार्यक्रम सञ्चालक नेविसंघका नेता तिमिल्सिनाले महिला संघकी महासचिव एवम् पूर्वसांसद खतिवडालाई बोल्ने समय नै दिएनन् ।

Published : Tuesday, 2020 March 17, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया