भारतले बनाएको सीमास्तम्भ कञ्चनपुरका स्थानीय र कांग्रेसले भत्काइदियो

महेन्द्रनगर । भारतले जबरजस्ती नेपाली भूमि मिचेर सीमास्तम्भ निमार्ण गरेपछि कञ्चनपुर स्थानीयसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सीमास्तम्भ फुटाइदिएका छन् ।

झण्डै दुईतिहाइको बलियो राष्ट्रवादी कम्युनिस्ट सरकारले सीमाको रक्षा गर्न नसकेको आरोप लगाउँदै कञ्चनपुरका स्थानीय र कांग्रेसका नेता तथा कार्यकर्ताले सीमास्तम्भ भत्काइदिएका हुन् ।

कञ्चनपुर जिल्लाको बेलौरीमा भारतीय पक्षले पुरानो सीमास्तम्भ हटाएर नेपाली भूमिमा अर्को सीमास्तम्भ राखेपछि नेपाली कांग्रेस कञ्चनपुरले आपत्ति जनाएको थियो ।

कञ्चनपुरमा नेपाली भूमिमा सीमास्तम्भ गाडिएको स्थानीयले उक्त पिल्लर तोडिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार उनीहरूले हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३, वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लरलाई हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन् ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले कम्युनिस्ट सरकारको लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेका बताएका छन् । ‘हामी त्यहाँ पुग्नु अवागै सीमास्तम्भ तोडफोड भइसकेको रहेछ’, उनले भने, ‘सीमास्तम्भ तोडिनु जनताको आक्रोस हो ।’

सीमास्तम्भ तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमास्तम्भ गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो ।

साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्न गएपछि सीमा विवाद चुलिएको छ ।

Published : Sunday, 2020 March 15, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया