चौधरीले कांग्रेसको अनुशासन समितिबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य चौधरीले अनुशासन समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । चौधरी नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा अनुशासन समितिमा सदस्य मनोनीत भएका थिए ।

पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेलधुरा सभापति कर्णबहादुर मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै चौधरीले समितिबाट राजीनामा दिएको जनाइएको छ ।

चौधरीले मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा असहमति जनाएका छन् ।

जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्ललाई पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो ।

अनुशासन समितिमा पौडेलको तर्फबाट धनराज गुरुङ, देउवाको तर्फबाट संयोजक भीष्मराज आङदेम्बे र सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन् ।

Published : Thursday, 2020 March 12, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया