महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ, उम्मेदवार बन्न सुझाव आएको छः कांग्रेस नेता थकाली

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुनुपर्ने बताएका छन् ।

मंगलबार भैँसेपाटीस्थित आफ्नै निवासमा रिपब्लिका दैनिकसँग कुरा गर्दै नेता थकालीले पार्टीको विधान कार्यान्वयनमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताए ।

‘कांग्रेस पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ’, उनले भने, ‘सबैको सहमतिमा महाधिवेशनको मिति तोकिएको छ । सोही मितिमा १४औँ महाधिवेशन गर्नुपर्छ ।’

१४औँ महाधिवेशनमा नेता थकालीले उम्मेदवारी दिने संकेत गरेका छन् । उनले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा स्पष्ट केही बताउन चाहेनन् ।

‘१४औँ महाधिवेशनमा म पनि उम्मेदवार बन्नुपर्छ भन्ने साथीहरूको सरसल्लाह आइरहेको छ’, उनले भने, ‘कुन पदमा उम्मेदवारी दिने भन्नेबारेमा मैले सोँच बनाएको छैन । महाधिवेशन आउन अझै समय बाँकी छ । साथीहरूकै सल्लाहमा उम्मेदवारी दिन्छु ।’

पदाधिकारीमा उम्मेदवार बन्नु हुन्छ भन्ने प्रश्नको जवाफमा नेता थकालीले भने, ‘अहिले नै भन्न सक्दैन । त्योपनि हुनु सक्छ ।’ पार्टीभित्रका शुभेच्छुक र साथीहरूले १४औँ महाधिवेशनमा उम्मेदवार बन्न सुझाव दिइरहेको उनले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट उम्मेदवार बन्नु हुन्छ कि सभापति शेरबहादुर देउवा निकटबाट उम्मेदवार बन्नु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म कांग्रेस हुँ । मेरा लागि पार्टी पहिलो स्थानमा छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुनुपर्छ । म पार्टी विधि र विधानले चल्नुपर्छ भन्ने व्यक्ति हुँ । कांग्रेस बनेर उम्मेदवार बन्छु ।’

१४औँ महाविधेशनमा गुटबन्दीको राजनीतिको अन्त्य, अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिने, छिमेकी मुलुकहरूलाई पञ्चशिलका आधारमा व्यवहार गर्ने, पार्टीभित्र आन्तरिक लोकतन्त्रमा बढावा दिने, विधि र विधानअनुसार पार्टीलाई चाउनुपर्ने जस्ता विषयहरू आफ्नो एजेण्डा रहने नेता थकालीले बताए ।

पार्टीभित्रको आन्तरिक विवाद अन्त्यका लागि आफूले शीर्ष नेतृत्वलाई बेलाबेला दवाव दिने गरेको उनले बताए । पार्टीभित्र देखिएको विवादले कांग्रेसलाई नै नोक्सानी गर्नेभन्दै नेता थकालीले सभापति देउवालाई असन्तुष्ट समूहलाई विश्वासमा लिएर १४औँ महाविधेशनको कार्यतालिकाअनुसार काम गर्न सुझाव दिएका छन् ।

बिक्रम संवत ०३४ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति शुरु गरेका थकाली मुस्ताङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । दुई पटक मन्त्री बनिसकेका नेता थकाली कांग्रेसभित्र लोप्रोफाइलमा बस्न रुचाउँछन् ।

Published : Wednesday, 2020 March 11, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया