कृष्णबहादुर महराको उपचार रोशनी शाहीले गर्ने, सचिवालयमा भागाभाग

काठमाडौं । स्वास्थ्यकी महिला कर्मचारी रोशनी शाही संसद सचिवालयमा पाँच महिनापछि हाजिर भएकी छिन् । स्वास्थ्यबाट काजमा संसद सचिवालयमा खटिएकी शाही फागुन ११ गतेदेखि हाजिर भएकी हुन् । सुटुक्क संसद सचिवालय सिंहदरबारमा आएर हाजिर गरेकी शाहीले पाँच महिनाको घर विदा कटाएकी छिन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौ-न दुरव्यवहारको आरोप लगाएर पाँच महिना कारागारमा थुनाएकी शाही महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएसँगै एकाएक हाजिर गर्न संसद सचिवालय आइपुगेकी हुन् । शाहीले हाजिर गरेर काम गर्न थालेपछि संसद सचिवालयमा डर त्रसाको अवस्था सिर्जना भएको छ ।

शाही बस्ने गरेको कोठामा पुरुष कर्मचारी र सांसदहरू जान मान गर्दैनन् । महरालाई यौ-न दुरव्यवहारको आरोप लगाएर थुनाएकी शाहीसँग संसद सचिवालयका सबै कर्मचारी र सांसदहरू डराउँछन् । शाहीलाई संसद सचिवालयबाट हटाउन कर्मचारी र सांसदहरूले माग गर्दै आएका छन् । महराको पावर लगाएर तत्कालीन सभामुख ओनसरी घर्तीको पालामा संसद सचिवालयमा काजमा अनमीको रुपमा भित्रिएकी शाहीले संसद सचिवालय छाड्न मन गरेकी छैनन् ।

शाहीलाई महराको दवावमा घर्तीले वितगमा वीर अस्पतालबाट संसद सचिवालयमा अनमीका रुपमा ल्याएकी थिइन् । पाँच महिना कुनै पनि विदा र जानकारी नदिएर गायब भएकी शाही एकाएक फागुन ११ गते आएर हाजिर गरेपछि संसद सचिवालयका कर्मचारीहरूका वीच मुखामुख भएको थियो ।

महराको पावर र आडभरोसा पाएकी शाहीलाई चलाउन कुनै पनि कर्मचारीले आँट गरेका छैनन् । शाहीले जस्तै अन्य कर्मचारीले पूर्वजानकारी विनानै पाँच महिना गायब भएको भए स्पष्टीकरण दिनुपर्ने थियो । तर, शाहीलाई त्यो छुट भएको छ ।

शाहीलाई समायोजनका क्रममा ललितपुर जिल्लाको बागमती गाउँपालिकामा दरबन्दी तोकिएको छ । शाही आफ्नो दरबन्दी रहेको कार्यालयमा जान अटेर गरेर बसेकी छिन् ।

संसद सचिवालयमा शाहीले विभिन्न महिला कर्मचारी र पुरुष कर्मचारीविरुद्ध महरा काण्ड हुनु अगाडि लिखित रुपमा नै उजुरी दिएकी थिइन् । शाहीको हर्कतका विषयमा जानकार रहेका कर्मचारीहरूले सबै उजुरीहरू गायब बनाइदिएका थिए ।

संसद सचिवालयमा वीर अस्पतालबाट चिकित्सकसहित केही कर्मचारीहरू काजमा खटिएका छन् । संसद सचिवालयका अनुसार स्वास्थ्य शाखामा प्रदीप घिमिरे, कृष्ण खत्री, डा.पुष्प रिजाल, स्टाप नर्स अमृता बराल, अनमी रोशनी शाही र अनमी साधना केसी खड्का कार्यरत छन् । उनीहरू सबै स्वास्थ्यका कर्मचारी हुन् । उनीहरू संसद सचिवालयमा काजमा खटिएका छन् ।

पाँच महिनापछि महरासँग संसद सचिवालयमा काजमा फर्किएकी शाहीले महरालगायतका सांसद र कर्मचारीहरूको उपचार गर्नेछिन् । शाहीका नाता पर्ने नेकपाका केही सांसदहरू पनि छन् । उनीहरूले शाही र महराको काण्डपछि आफूहरूलाई लाज लाग्ने गरेको बताउने गरेका छन् । शाही बस्ने गरेको कोठामा सांसद र कर्मचारी प्रवेश गर्न डराएपछि संसद सचिवालयमा एक किसिमको तनाव उत्पन्न भएको छ ।

शाहीलाई संसद सचिवालयबाट काज फिर्ताका लागि कर्मचारीहरूले दवाव सिर्जना गरेका छन् । महराको डरका कारण कसैले पनि मुख खोल्न सकेका छैनन् ।

सभामुख अग्नि सापकोटाले पनि शाहीलाई काज फिर्ता गराउन रुचि देखाएका छैनन् । महरा रिसाउने हुन् कि भनेर पनि सभामुख सापकोटाले यो विषयमा रुचि नदेखाएको हुन सक्ने एक कर्मचारीले बताए ।

Published : Wednesday, 2020 March 4, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया