कांग्रेसको बोल्ड निर्णय, देशभरिका पाँच लाख कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसले पाँच लाख क्रियाशील सदस्यहरूलाई पार्टीको सांगठिनक विकास र सुदृढीकरणको विषयमा आधारभूत तालिम दिने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरिका सबै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिनेछ ।

प्रतिष्ठानका प्रमुख उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा मंगलबार बसेको प्रतिष्ठानको बैठकले क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

पार्टीको विधान र नियमावली अनुसार, जिल्ला उपसभापति जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ ।

प्रतिष्ठानले बुधबार सबै जिल्ला उपसभापतिहरूसंग पार्टी मुख्यालय सानेपामा संगठन, क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा छलफल गर्नेछ ।

प्रतिष्ठानका प्रमुखसंगको छलफलपछि जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत रहेका जिल्ला उपसभापतिहरूले आगामी चैत १५ गते ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।

प्रत्येक जिल्लामा त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र गरी २ सय स्थानमा प्रतिनिर्वाचन क्षेत्र ५० जनाका दरले १० हजार जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ ।

ती १० हजार प्रशिक्षकले चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करीव ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिनेछन् ।

Published : Wednesday, 2020 March 4, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया