खुमबहादुरलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइयोः महामन्त्री खड्का

लमही । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्व.खुमबहादुर खड्कालाई राजनीतिक षड्यन्त्रको शिकार बनाएको बताएका छन् ।

सोमवार देउखुरीको अमेलिया चौराहामा निर्माण गर्न लागिएको स्व.खुमबहादुर खड्काको शालिक सिलन्यासका क्रममा महामन्त्री खड्काले स्वर्गीय नेता खुमबहादुर खड्काको महत्व राजनीतिक जीवनमा कति छ ? भन्ने बुझ्न बिक्रम संवत २०३३ सालमा बीपीले मेलमिलापको नीतिका साथ स्वदेश फर्किदा नेता खड्कालाई संगै ल्याउनुले स्पष्ट बनाएको बताएका छन् ।

‘तत्कालीन समय जम्मा २५ वर्षका रहेका खुमबहादुरलाई वीपीले किन साथमा लिएर आउनु भयो ? खुमबहादुर खड्काको महत्व त्यहीबाट स्पष्ट हुन्छ’, महामन्त्री खड्काले भने, ‘पछि उहाँलाई राजनीतिक प्रतिशोध र षड्यन्त्र गरेर फसाइयो ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिमा सबैभन्दा पहिला खुमबहादुर खड्काले नै गणतन्त्रमा जानुपर्ने प्रस्ताव पेश गरेको महामन्त्री खड्काले बताए ।

सोही कारण खुमबहादुर खड्का राजाको निशानामा परेको उनले बताए । महामन्त्री खड्काले नबुझ्नेहरूले मात्रै स्व.खुमबहदुरलाई राजावादी भन्ने कुतर्क गर्ने गरेको बताए ।
अन्तिम अवस्थासम्म पनि स्व.खुमबहादुर खड्काले हिन्दूधर्मप्रति विशेष लगाव राखेको उनले बताए ।

महामन्त्री खड्काले पूर्ण धार्मिक स्वतन्त्रताको पक्षमा आवाज उठाउन आवश्य रहेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले स्व.खुमबहादुर खड्कालाई भारतीय राष्ट्रवादी नेता भगत सिंहसंग तुलना गरेका छन् ।

गिरीले स्व.खुमबहादुर खड्का षड्यन्त्रको राजनीतिको शिकार भएको बताए । उनले खुमबहादुर खड्कामाथि षड्न्त्र पूर्वक भ्रष्टचारको कालो दाग लगाएको बताए ।

गिरीले खुमबहादुर खड्कालाई एउटा क्रान्ति नायकका रुपमा स्मरण गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पछिल्लो समय कांग्रेस हार्नुको प्रमुख कारण वीपीको मार्गबाट पार्टी विचलित हुँदै जानु र हिन्दूधर्मको मुद्दा छोड्नु रहेको बताइन् ।

पछिल्लो समय देशमा क्रिश्चियनहरू बढेको भन्दै डा.संग्रौलाले खुमबहादुर खड्काले भने जस्तै गरी हिन्दूराज्यको पक्षमा सबैले वकालत गर्नुपर्ने बताइन् ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा डडेलधुराका सभापति कर्णबहादुर मल्ल, सुर्खेत जिल्लाका पूर्व सभापति तप्तबहादुर विष्ट, पूर्व सांसद गेहेन्द्र गिरी, प्रदेश सांसदद्वय डिल्लीबहादुर चौधरी र अर्जुन श्रेष्ठ, पूर्वसभापतिहरू वीरकेश्वरी गौतम, घनश्याम रेग्मी, पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारी, सुशीला चौधरी लगायतले खुमबहादुर खड्काको योगदानको स्मरण गरेका थिए ।

देउखुरीको अमेलियामा कांग्रेस नेता खुमबहादुर खड्काको शालिक सिलन्यास भएकै दिन १० लाख बढी रकम सहयोगको घोषणा भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ स्थित अमेलिया बजारको चौराहामा निर्माण गर्न लागिएको शालिक निर्माणका लागि जिल्ला सभापतिदेखि संघीय सभापति तथा विभिन्न शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने घोषणा गरेको दाङ कांग्रेसका सचिव शंकर डाँगीले जानकारी दिए ।

एक वर्षभित्र खुमबहादुर खड्काको पूर्णकदको ढलोटको शालिक निर्माण गरिनेछ ।

दाङ कांग्रेसका सभापति तथा शालिक निर्माण गर्न गठित मूल समितिका संयोजक कीर्तिबहादुर खड्काले तोकिएको समयभित्र शालिक निर्माण हुने बताए ।

कार्यक्रममा करीव १ सय ३० जना युवाहरू विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Wednesday, 2020 March 4, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया