कम्युनिस्टले चरित्रमा धब्बा लगाएपछि देउवाले खोलिदिए रहस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्तिका विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

सभापति देउवाले बुधबार विज्ञप्ति जारी गरेर नेपाल ट्रष्टको सम्पत्तिमा आफ्नो नाम जोडेर आएकोमा आपत्ति जनाएका हुन् ।

‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन’, उनले भने, ‘मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’

नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले सृजना गरेको केही भ्रमबारे स्पष्ट गर्न यो विज्ञप्ति जारी गरेको देउवाले जनाएका छन् ।

‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो’, देउवाले भनेका छन्, ‘अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।’

‘यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु’, सभापति देउवाले भनेका छन् ।

‘अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन म सबैमा हार्दिक अपील गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Thursday, 2020 February 27, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया