गगनका शब्दले ओली बस्ने कुर्सीको खुट्टा हल्लिए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा मागेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले ओलीलाई तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

ओलीको संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको थापाले बताए ।

‘प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस्’, उनले भनेका छन् ।

तत्कालीन मन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै सांसद थापाले यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’, थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ ।’

‘सम्मानीय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ’, उनले भने, ‘यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरू सोध्नेछौँ ।’

थापाले प्रधानमन्त्रीले के भन्छन् भन्ने थाहा नभए पनि आसेपासेहरूले थाहा थिएन भन्न थालेको बताए । ‘प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरू प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ?’, उनले भनेका छन् ।’

‘पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ’, उनले भने, ‘सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ ?’

उनले भनेका छन्, ‘सेक्युरिटी प्रिन्टिङ प्रेससँगै फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनालगायतका ठेक्काबारे सबै कुरा थापा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन् ।’

थापाले प्रधानमन्त्रीले पटकपटक भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको भन्दै अहिले नागरिकहरूले बालुवाटारमा ऐन छ कि छैन भनेर मेत प्रश्न गर्न थालेको बताएका छन् ।

नेकपा नेताहरूले प्रधानमन्त्री र भ्रष्टाचारबारे ठूलो स्वरले बोल्न नसके पनि आफूहरूसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताएका छन् ।

‘संसदको लबीमा भेट्दा कहिलेकाँही कानेखुसी गरेर हामीलाई भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो’, उनले भने, ‘बीचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरे पनि यतीवादी मात्रै देखिनुहुन्छ भन्नुुहुन्छ । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?’

Published : Tuesday, 2020 February 25, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया