कांग्रेसको विवाद मिलाउन निधि–सिंहबीच वार्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर बखेडा निकाल्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई फकाउन गृहकार्य शुरु भएको छ ।

पौडेल समूहलाई फकाउन उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच वार्ता भएको छ । काठमाडौंको ठमेलस्थित सिंहको निवासमा सोमबार बिहान वार्ता भएको हो । वार्ता यो समाचार तयार पार्दासम्म जारी छ ।

वार्तामा सभापति शेरबहादुर देउवाको तर्फबाट उपसभापति निधि तथा पौडेलको तर्फबाट नेता सिंहका साथै हृदयराम थानी र दिलेन्द्रप्रसाद बडु रहेका छन् ।

लोकतान्त्रिक पार्टीभित्र पौडेल समूहले असन्तुष्टि पोख्न बैठक बहिस्कार गर्दै आएको छ । पौडेल समूहले लगातार दुई पटक बैठक बहिस्कार गरेको छ ।

बहिस्कार गर्ने चलन कम्युनिस्टहरूभित्र रहेको हुन्छ । तर, पौडेल समूहले बैठक बहिस्कारको संस्कार नेपाली कांग्रेसमा भित्र्याएको छ ।

नेता पौडेलले विभाग गठन र संख्या बढाउने विषयमा बखेडा निकाल्दै आएका छन् । पौडेलले १४औँ महाधिवेशनको कार्यसूचि सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन् ।

Published : Monday, 2019 December 16, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया