कांग्रेसद्वारा उच्चस्तरीय छानविनको माग

काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको बलियो सरकारलाई धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटको घटनाको उच्चस्तरीय छानविन गर्न माग गरेको छ ।

ललितपुरको सानेपामा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहको बहिष्कारका बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन जनाको ज्यानजाने गरी भएको बम विष्फोटको उच्चस्तरीय छानबिन गर्न माग गरेको हो ।

नेपाली कांग्रेसले विष्फोटमा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च र मृत परिवारलाई राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।

‘नेपाली कांग्रेस बम विष्फोट गराउने दोषी जो भएपनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्ति सुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको तथ्यप्रति चिन्ता प्रकट गर्दे सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपील गर्दछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाको उच्चस्तरीय छानविनका लागि माग गर्दे नेपाली कांग्रेस बम विष्फोटमा परेर घाइते भएकाहरूको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

मंसिर २७ गते राति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसले दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

‘नेपाली कांग्रेस सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपील गर्दछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस बैठकले कञ्चनपुरको महाकाली नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको उपचार व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।

केही दिनअघि हात्तीको आक्रमणमा परी स्थानीय बसन्ती भट्ट र भूरी बोहराको मृत्यु भएको थियो । आक्रमणमा चार जना महिला घाइते भएका छन् ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आ–आफ्नो धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनको कार्यतालिकाका बैठकमा एजेण्डाका रुपमा पेस गर्न सकारात्मक नदेखिएपछि पौडेल समूहले आतइबारको बैठक बहिष्कार गरेको थियो ।

Published : Sunday, 2019 December 15, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया