तरुणले माग्यो भ्रष्ट कम्युनिस्टसँग सुरुवाल काण्डको हिसाब, खेलाडीलाई दियो बधाई

काठमाडौं । नेपाल तरुण दलले अभावका बाबजुद नेपाली खेलाडीहरूले फुटबलसहित अधिकांश प्रतिस्पर्धामा ५१ वटा स्वर्ण पदक जितेकोमा खेलाडी, प्रशिक्षक र कर्मचारीहरूलाई धन्यावाद र बधाई दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान विज्ञप्ति जारी गरेर पदक जितेर देशको ईज्जत जोगाउने खेलाडीहरूलाई बधाई दिएका हुन् ।

१३औँ साग खेलकुदको समापन समारोहको दिन आयोजित फुटबल खेलको फाईनलमा नेपालले २–१ गोल अन्तरले भुटानलाई पराजित गर्दै एैतिहासिक जित हासिल गरेकोमा आम नेपालीको तर्फबाट नेपाल तरुण दल सबै खेलाडी, प्रशिक्षक तथा खेलसंग आबद्ध सबैलाई धन्यबाद एवं शुभकामना व्यक्त गरेको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरूलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको बताएका छन् ।

तरुण दलले दौरा सुरुवा खरिदको विषयमा आफ्नो ध्यान आकर्षण भएको जनाएको छ ।

नेपालले १३औँ साग गेममा ५१ स्वर्ण पदक, रजत ६० र कास्य ९५ पदक जित्न सफल भएको थियो ।

‘नेपाली होनाहार खेलाडीहरूलाई शुटिङ, साईक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरूको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पदक जित्ने खेलाडीहरुलाई देशको ईज्जत बचाउन महत्वपूर्ण भूमिका खेल्नुभएकोमा हार्दिक धन्यवाद दिँदै उहाँहरूमा स्वर्ण पदक जित्ने प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्ने प्रत्येकलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषदसंग तरुण दल जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रियस्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्ने कार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुरामा ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ ।’

साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग तरुण दलले गरेको छ । अध्यक्ष बस्नेतले खेलकुदको नाममा भएको भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेण्डर) प्राप्त गरेको ईसेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा संचालन गरेको प्रति तरुण दलले खेद प्रकट गरेको छ ।

उक्त कम्पनीमाथि पनि छानबिनको प्रकिृया शुरु गरी कारवाहीको दायरामा ल्याउन तरुण दलले माग गरेको छ ।

‘जनताले जीवन नै धान्न नसक्ने गरी कर वृद्धि, महँगी, वाईडबडीमा भ्रष्टचार, न्यारोबडी काण्ड, ३८ सय क्वीन्टल सुन काण्ड, बालुवाटारको जग्गा प्रकरण, टेलिकम फोरजी काण्ड, निर्मला पन्त काण्ड लगायतका काण्डै काण्ड मच्चाउँदै आएको खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकार अन्तिममा दौरासुरुवाल काण्डमा आएर अल्मलिएको नेपाल तरुण दलले बुझेको छ’, विज्ञप्तिमा अध्यक्ष बस्नेतले भनेका छन् ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिच्दा समेत नबोल्ने दुईतिहाई मतको केपी ओली सरकारका काण्डहरूको लेखाजोखा तरुण दलले राखेको र सरकार नसुध्रिएमा सरकारका विरुद्ध नेपाल तरुण दलले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ’, तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।

१३औँ साग गेममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुदको पैसाले मन्त्री र भीभीआईपीहरूलाई दौरा सुरुवाल निःशुल्क वितरण गरेका थिए ।

प्रधानमन्त्री ओलीका पूर्वप्रशिक्षक समेत रहेका सिलवालले खेलाडीहरूलाई खेल सामाग्री नदिँदा अन्य राष्ट्रका प्रतिस्पर्धी खेलाडीसँग सामाग्री मागेर प्रतिस्पर्धा गरेका थिए ।

सिलवालले नेपाली प्रशिक्षक र कोचहरूलाई पनि भेदभाव गरेका थिए ।

Published : Wednesday, 2019 December 11, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया