कम्युनिस्ट सरकार बनेसँगै धर्ममा आतंक भयोः देउवा
बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरू सत्तामा गएपछि मुलुकमा धर्म आतंक भएको बताएका छन् ।
बागलुङ नगरपालिका ४ कुँडुलेस्थित श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर परिसरमा निर्माण गरिएको भूमिगत श्रीधराचार्य शालग्राम संग्रहालयको आइतबार उद्घाटन पछि बोल्दै देउवाले नेपालको मौलिक हिन्दु सनातन धर्म संकटमा पर्दै गरेको बताए ।
उनले विभिन्न लोभ र प्रलोभनमा पाश्चात्य धर्मको प्रभाव बढाइरहेको बताए । पुराना मौलिक र ऐतिहासिक धर्म, संस्कृति र यससँग जोडिएका चिजवस्तुको संरक्षण सम्वर्द्धन गर्नुपर्ने देउवाले बताए ।
कालिगण्डकी नदीमा पाइने दुर्लभ एवं बहुमूल्य शालिग्राम शिलाको संरक्षणका लागि संग्राहलयले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास समेत व्यक्त गरे ।
शालिग्राम संग्राहालयले विश्वको ध्यान तान्ने सम्भावना रहेको उनले बताए ।
सभापति देउवाले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको संग्रहालयले लोप हुँदै गएको शालिग्रामको संरक्षणमा सरोकारवालाको ध्यान आकृष्ट समेत गर्ने बताए ।
‘हुन त शालिग्रामका विषयमा मलाई धेरै जानकारी छैन’, देउवाले भने, ‘कालिगण्डकी नदी यस्तो नदी हो, जहाँका साना ढुंगाहरू पनि मान्छेले टिपेर लैजान्छन्, एक किसिमको श्रद्धा यसमा देखिन्छ ।’
राज्यस्तरबाट गर्नुपर्ने काम स्वामीहरूको पहलमा हुनु सह्रानीय कार्य भएको देउवाको भनाई थियो ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवैध रुपमा भएको कालिगण्डकी नदी दोहनले लोप हुन लागेको शालग्राम संरक्षणका लागि संग्रहालय निर्माणको काम ऐतिहासिक र अपरिहार्य कार्य भएको बताए । शालिग्राम संग्राहलयमा सवा लाख शालिग्राम संकलन गरेर राखिएको छ ।
झण्डै छ करोडको लागतमा डेढ वर्ष लगाएर संग्रहालय बनाइएको मन्दिरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया