विश्वप्रकाशको चेतावनीले भ्रष्ट कम्युनिस्टहरूभित्र भुइँचालो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध कांग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपियाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए ।

शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जासम्म गरेको बताए । उनले त्यसका विरुद्ध कांग्रेसले नेपाल बन्द आयोजना गर्दा जनताले दुःख पाउने भएकाले विरोध सभाबाट नै जनतालाई जगरुक बनाएको बताए ।

‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकाको गत १४ मंसिरमा भएको निर्वाचनमा कम्युनिष्ट ढलिसके’, प्रवक्ता शर्माले भने, ‘नेकपाको नेतृत्वमा दुईतिहाइको समर्थनमा कम्युनिस्ट सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनतालाई पत्याउन छाडिसकेको यो प्रमाण हो ।’

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको उनले बताए । शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपाले पराजित भएकोले नेकपासँग सच्चिन सन्देश दिएको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनोहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको चरम अनुकम्पाले प्रधानमन्त्री भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्वाचन क्षेत्रमा नेकपाकै नगर प्रमुखले गरेको भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न नेपाली कांग्रेसका प्रवक्ता शर्माले आग्रह गरेका छन् ।

‘सरकारले गरेका हरेक क्रियाकलापको बिरोध गर्न नेपाल बन्द नै गर्न सकिए पनि कांग्रेसले त्यस्तो गर्दैन’, प्रवक्ता शर्माले भने, ‘बलियो देखिने नाममा कांग्रेसले नेपाल बन्द गर्ने, सवारी तोडफोड गर्ने र मान्छेलाई जिउँदै जलाउने काम गर्दैन ।’

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले नेकपाको सरकार भएपछि स्थानीय तहमा संस्थागत भ्रष्टाचार हुन थालेको बताए ।

Published : Friday, 2019 December 6, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया