उच्च मनाेबलमा कांग्रेस, घाटा र तनाबमा कम्युनिस्टहरू

काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसमा भन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भाँडभैलो भएको छ ।

नेपाली कांग्रेसका नेताहरूले यस पटक धेरै अन्तरघात गरेनन् । दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ ‘ख’ र कास्की २ मा बाहेक अन्यत्र नेपाली कांग्रेसभित्र अन्तरघात भएन ।

दाङ र कास्कीमा कांग्रेसका केही विद्रोही नेताहरूले नेकपालाई साथ दिएको भनेर चर्चा भएको छ । तर, यी चर्चामा खासै दम देखिएको छैन । कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ९ मा नेपाली कांग्रेसले वडाध्यक्षमा जितेको छ ।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् । दाङमा केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री दीपक गिरीको वडामा पनि नेपाली कांग्रेस पराजित भएको छ ।

सरसर्ती हेदा दाङ र कास्कीमा खेलखण्ड भएको गन्ध आउन थालेको चर्चा हुन थालेको छ । सोही कारणले कांग्रेसमा अनेकखालका अड्कलबाजी भएका छन् । कांग्रेसभित्रका यी अड्कलबाजी मात्रै हुन् ।

तर, नेकपाभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’कै भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा नेपाली कांग्रेसले वडाध्यक्ष खोसेको छ । यो क्षेत्रमा यसअघि एमालेले जितेको थियो ।

यस पटक एमाले र राप्रपाहरू मिलेर नेपाली कांग्रेसलाई जिताएको चर्चा छ । प्रचण्डलाई देखाउन पूर्व एमाले र राप्रपाहरूले कांग्रेसलाई सघाएको चर्चा छ ।

भक्तपुरको प्रदेश सभामा पनि पूर्व एमालेवालाहरूले असहयोग गरेको नेकपाभित्र व्यापक चर्चा छ । धरानमा भने पूर्व माओवादीहरूले कांग्रेसलाई साथ दिएको आरोप छ ।

यी सबै विषयले गर्दा नेकपालाई अन्तरघातको ठूलो रोगले छोएको देखिन्छ । कांग्रेसको विगतको रोग यस पटक नेकपामा सरेको छ ।
नेकपाका नेताहरूले सार्वजनिक रुपमा पार्टीलाई क्षति भएको बताउन थालेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीका हनुमानहरूले नेकपालाई नोक्सान नभएको दाबी गरिरहेका छन् । जबकि नेपाली कांग्रेसले भक्तपुरको प्रदेश सभा र धरान उपमहानगरपालिका खोसेको छ ।

लाल किल्लाका रुपमा रहेका भक्तपुर र धरानलाई कांग्रेसले खोस्नु भनेको सामान्य कुरा होइन । कास्की २ मा नेकपाले जित्ने स्वभाविक पनि थियो । नेकपाले जति नै ठूला र चर्का कुरा गरे पनि उपनिर्वाचन सत्तापक्षलाई नोक्सान भएको छ ।

Published : Thursday, 2019 December 5, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया