महरा–पोखरेलको वडामा कम्युनिस्ट हराउने कांग्रेसका हिरोले मोर्चा सम्हाले

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा विजयी भएका नेपाली कांग्रेसका वडाध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंसिर १४ गतेको उपनिर्वाचनबाट घोराही वडा नम्बर १६ मा विजयी भएका वडाध्यक्ष डाँगीले बुधबार शपथ लिएका हुन् । उनले शपथ लिएसँगै वडा कार्यालय पुगेर कार्यभार सम्हालेका छन् ।

वडाध्यक्ष डाँगीले वडा नम्बर १६ का जनताको काममा रातदिन नभनेर सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘मलाई जनताले विश्वास गरेर मतदान गर्नुभयो । तर्पाइहरूले मलाई विजयी बनाउनुभएको छ’, उनले भनेका छन्, ‘तपाई मतदाताहरूको विश्वास गुम्न दिनेछैन ।’

वडा नम्बर १६ मा यसअघि तत्कालीन एमाले विजयी भएको थियो । वडा नम्बर १६ लाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो आधार क्षेत्रका रुपमा लिएको थियो ।

उपनिर्वाचनमा सत्तारुढ नेकपाको त्यो दाबीलाई नेपाली कांग्रेसका डाँगीले भताभुङ्ग बनाइदिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ संसद सचिवालयकी महिला कर्मचारीलाई यौनदुर्व्यवहार गरेको अभियोगमा डिल्लीबजार कारागारमा रहेका नेकपाका सांसद एवम् निवर्तमान सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपाकी सचेतक शान्ता चौधरीको क्षेत्र पर्छ ।

नेकपाले यो वडालाई फुत्किन नदिने जनाएको थियो । तर, सधै मतदातालाई दास ठान्ने कम्युनिस्टहरूलाई घोराही १६ का मतदाताहरूले हराएर देखाइदिएका छन् ।

Published : Thursday, 2019 December 5, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया