विद्यालाई हराउन नसकेपछि कांग्रेस सभापति ठकुरीले दिइन् राजीनामा
पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीलाई हराउन नसकेपछि नैतिकताको जिम्मेवारी लिएर नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उपनिर्वाचनमा पोखरा ९ मा पराजय भोगेपछि सभापति ठकुरीले नैतिकताको आधारमा राजीनामा दिएकी हुन् । उनले विज्ञप्ति जारी गरेर हारको जिम्मेवारी लिएकी छिन् ।
‘उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत भएको छैन’, सभपाति ठकुरीले राजीनामा पत्रमा स्वीकार गरेकी छिन् ।
सभापति ठकुरीले नेपाली कांग्रेस, कास्की क्षेत्र नम्बर २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी छिन् ।
पदबाट राजीनामा दिएको बताउँदै ठकुरीले पार्टी र संगठनमा थप क्रियाशील भएर लाग्ने बताएकी छिन् ।
राजीनामा पत्रमा उनले जिम्मेवारीभन्दा बाहिर रहेर पनि पार्टीप्रतिको निष्ठा र आस्था तथा भरोसा उत्तिकै राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
‘पोखरा ९ मा जुन मत आउनुपर्थ्यो आउन सकेन’, सभापति ठकुरीले भनेकी छिन्, ‘यसमा मेरो पनि कमजोरी भयो होला । आगामी दिनमा यस्तो नहोस् ।’
सभापति ठकुरीले पार्टीभन्दा व्यक्ति ठूलो हुनै नसक्ने जनाएकी छन् ।
कास्की २ को सम्पन्न उपनिर्वाचनमा पोखराका ११ वटा वडामध्ये ९ पनि एक हो ।
गत स्थानीय चुनावमा कांग्रेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए ।
आइतबार सार्वजनिक कास्की २ को नतिजामा वडा ९ मा कांग्रेसलाई उछिन्दै नेकपाको पक्षमा ३ सय ७० मत बढी आएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया